कैलाली : सुदूरपश्चिममा प्रहरीको जागिर लगाइदिने भन्दै एक प्रहरी सहायक हवल्दारले घुस लिएको घटना सार्वजनिक भएको छ ।प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरमा कार्यरत प्रहरी सहायक हवल्दार केशवदत्त भट्टले २ लाख घुस लिएको आरोप लागेको हो । डडेल्धुराको जोगबुढाका हवल्दार भट्टमाथि बझाङका बिरेन्द्र धामीबाट पटक–पटक गरेर प्रहरीमा जागिर लगाउने भन्दै २ लाख रुपैयाँ असुली गरेको आरोप छ ।
धामीले दीपायलबाट प्रहरी जवानमा जागिर खान २ लाख रुपैयाँ भट्टलाई बुझाएका हुन । तर उनी पास नभएपछि घटना सार्वजनिक भएको हो । सहायक हवल्दार भट्टले जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत हुँदा धामीबाट २ लाख रुपैयाँ विभिन्न मितिमा बुझेको पाइएको छ ।
२०८० चैत २७ गते ६४ हजार ८ र ३५ हजार २ सय गरेर एक लाख धामीले भट्टको नाममा भारतबाट रकम पठाएका छन् । २०८१ वैशाख ९ गते २० हजार, प्रभुमनि ट्रान्सफरबाट १० हजार र अन्य माध्यमबाट ५० हजार १६० गरेर एक लाख थप भट्टको नाममा धामीले पठाइएको पाइएको छ ।
दीपायलबाट आवेदन भर्न लगाएका धामीले प्रहरीमा जागिर खान नसकेपछि रकम फिर्ता मागेका थिए । तर अहिलेसम्म भट्टले ३० हजार रुपैयाँ मात्रै फिर्ता गरेको पीडित धामीको भनाई छ ।
सहायक हवल्दार भट्टले २०८१ भदौ २० गतेको मिति राखेर दिइएको एक लाख ७० हजारको चेक हालसम्म पनि नसाटिएको धामीको गुनासो छ। यता, प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरका प्रहरी सहायक हवल्दार भट्टले आफूले रकम लिएको स्वीकार गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij