बागमती : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा शनिबार स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।यससँगै मृत्यु हुनेका सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार एकापसमा ठक्किँदा कारचालक हेटौँडा उपमहाननगरपालिका–४ स्कूलरोड निवासी ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र कारमा सवार चितवनको राप्ती नगरपालिका–२ गड्यौली निवासी ५० वर्षीया सुनीता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।दुर्घटनामा परी गम्भीर घाइते कारचालक सुरेन्द्रलालको चितवन अस्पताल र सुनीताको नयाँ मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा चितवन राप्ती नगरपालिका–२ गड्यौली निवासी ५५ वर्षीय ओमकुमार श्रेष्ठ, सोही ठाउँ निवासी २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी २६ वर्षीया पुजादेवी साह, निजकी छोरी आठ वर्षीया प्रियान्सी साह, सोही ठाउँका २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशाकुमारी साह, १५ वर्षीय ओमशङ्कर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, चार वर्षीया दिब्याकुमारी साह, १६ वर्षीया सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।घाइते सबैको इलाइभ अस्पताल चितवनमा उपचार भइरहेको छ । स्कार्पियो चालक भने फरार छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij