काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा सापकोटाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरी उपर अख्तियारको कार्यालय, कञ्चनपुरबाट अनुसन्धान हुँदा सापकोटाले अख्तियारका अधिकृतलाई एक लाख रुपियाँ घुस दिन खोजेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
‘‘उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रङ्गको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपियाँ भेटिएको थियो,’’ प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंका लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए ।’’
अख्तियारको टोलीले सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अछाम, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानका लागि सापकोटालाई बोलाएको प्रवक्ता घिमिरेले बताउनुभयो ।बयान दिन जाँदा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले घुस दिएकाले भ्रष्टाचार मुद्दामा कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij