Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आफूलाई तारेखमा छाड्न रवि लामिछानेको अनुरोध

आफूलाई तारेखमा छाड्न रवि लामिछानेको अनुरोध

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाड्न अनुरोध गरेका छन् । आफूलाई बाहिरै बसेर मुद्दा लड्न दिए पीडितको बचत फिर्ता ल्याउन सहयोग गर्ने उनको भनाइ छ ।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका लामिछानेले न्यायाधीश नीतिज राईसमक्ष भने, ‘बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान् । हरेक पटक तारेखमा सहकारी पीडितका पक्षमा काम गरेको रिपोर्टसहित आउने छु ।’

जाहेरवाला पीडित बचतकर्ता र सरकारकारी वकिलको कार्यालयको जवाफी बहस सकिएपछि न्यायाधीश राईले प्रतिवादीलाई केही भन्नु छ ? भनेर सोधेका थिए । त्यसपछि बोलेका रविले आफूलाई थुनाबाहिरै बसेर मुद्दा लड्ने व्यवस्था मिलाउन अनुरोध गरेका थिए । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीले आजै थुनछेक आदेश जारी गर्ने तयारी गरेको छ । आदेश आउने भएपछि जिल्ला अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

पुस ७ गते जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङलगायत ४४ जनालाई प्रतिवादी बनाएर थप अभियोग दायर गरेको हो । प्रतिवादीको बयान सकाएर गत मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो । मंगलबार र बुधबार जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो ।

बिहीबार पीडित सहकारीका बचतकर्ताका कानुन व्यवसायीले बहस गरे । शुक्रबारदेखि बुधबारसम्म प्रतिवादीहरुको तर्फबाट बहस भयो । बुधबार जाहेरवालाको तर्फबाट र आज सरकारी वकिलको कार्यालयबाट जवाफी बहस भएपछि थुनछेक आदेश दिने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij