Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सेनिटरी प्याडमा लुकाएर सुन तस्करी, तस्करीको सुन लुट्ने तीन जना पक्राउ

सेनिटरी प्याडमा लुकाएर सुन तस्करी, तस्करीको सुन लुट्ने तीन जना पक्राउ

काठमाडौं : प्रहरीले अबैध सुन लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करीको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीया लालबहादुर तामाङ रहेका छन् ।

उनीहरुले सेनिटरी प्याडमा लुकाएर सुन तस्करी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुस १४ गते आइतबार दिउँसो साढे २ बजे फ्लाई दुबईको उडानमार्फत एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी थिइन् ।

पछि ती महिलाले दुबईबाट सुन ल्याएको र उक्त सुन लुटिएको सूचना प्रहरीले पायो । सुन लुटिएको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीसँग मिलेर अनुसन्धान अघि बढाएको थियो।

सो क्रममा तीन जनालाई पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उक्त सुन नाम परिवर्तित ‘भक्तपुर क’ महिलाले आफूले प्याड लगाएर त्यसमा लुकाएर ल्याएको खुलेको छ। सुनलाई गालेर लिक्विड बनाएर प्याडमा लेपन लगाएर ल्याइएको थियो ।अवैध रूपमा सुन ल्याएको सूचना पाएपछि लुटिएको खुलेको हो। लुटिएको झण्डै आधा किलो ४३६।१० ग्राम सुन समेत प्रहरीले बरामद गरेको छ ।

लुटेराहरूबाट प्रहरीले ३ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij