काठमाडौँ : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष दुजाङ शेर्पाले आफूमाथि नै छानबिन गर्न माग गरेका छन्। आफूमाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गर्दै नेपाली कांग्रेसको सुशासन समितिमा उजुरी दिएका हुन् । अध्यक्ष शेर्पामाथि व्यक्तिगत खातामा पैसा जम्मा गरेर हिनामिना गरेको आरोप लागेको थियो। सोही विषयमाथि छानबिन र कारबाहीको माग गर्दै उनले उजुरी दिएका हुन्।
आफूमाथि बिना प्रमाण झुटा आरोप लागेको र आर्थिक अपचलनको लाञ्छना लगाई चरित्र हत्या गरी सङ्घको छवि समेत धुमिल गर्न गरिरहेको दुष्प्रयास गरिएको भन्दै छानबिन गर्न माग गरेका हुन्। सङ्गठनको विधि र पद्धति समेतको धज्जी उडाउने, विद्यार्थी आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको उनको आरोप छ।
नेविसंघको संस्थापन पक्ष र संस्थापनइतर पक्षबिच विभिन्न विषयमा मतान्तर चल्दै आएको छ। केन्द्रीय सदस्य प्रेमिका राना मगरले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यालय पुनर्निर्माणका लागि सङ्कलित रकम पनि व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोप लगाएकी थिइन ।
‘अध्यक्ष दुजाङ शेर्पाले २०८० कार्तिक १७ गते जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिका ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माण गर्ने जिम्मा नेविसंघले लिएको घोषणा जाजरकोटमै पुगेर गरेको स्मरण गराउँदै उक्त विद्यालय हालसम्म अलपत्र रहेको र तत्कालीन समयमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनःनिर्माणका लागि सङ्कलित रकमको हिसाब समेत सार्वजनिक नगरी व्यक्तिगत खातामा रकम सङ्कलन गरेर आर्थिक हिनामिना भएको समेत सबैमा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ। पुस ७ गतेदेखि देशभरका क्याम्पसहरूमा नेविसंघको सदस्यता अभियान भइरहेको छ भने संस्थापनइतर पक्षले पनि अधिवेशनजस्ता गतिविधि गरिरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij