सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत फागुनको चुनावमा कर्णालीमा रास्वपाको नतिजा सोचेजस्तो नआए पनि पहिलो प्राथमिकतामा राखिएको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा राज्यबाट उपेक्षामा परेको कर्णालीलाई प्राथमिकताका साथ अगाडि बढाइने बताएका हुन् ।
‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँहरूको जस्तो हुन सकेन, पार्टीका रूपमा उम्मेदवारलाई जिताएर संसद् लैजाने हकमा हामी कर्णालीमा पछाडि पर्यौँ,’ उनले भने, ‘हाम्रो आवाज कर्णालीको दुरदराजमा पुग्न सकेन, पुर्याउन सकेनौँ । तर म आज यहाँ उभिएर सिङ्गो कर्णालीलाई वाचा गर्न चाहन्छु कि तपाईँले हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन । कर्णालीले विकास मागेको छ, खोजेको छ । चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुन्जेलसम्म चाहे कर्णालीले एक जना मात्र पनि नपठाओस्, एक भोट पनि नदियोस्, तर कर्णाली रास्वपाको प्राथमिकतामा रहनेछ ।’
कर्णालीसँग आफू कुनै सौदा गर्न नआएको लामिछानेले बताए । उनले थपे, ‘हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ, हाम्रा मान्छेलाई जितायौ भने पुल बन्छ, बाटो बन्छ, घर–घरमा विकासको स्वाद चाख्न पाइन्छ भनेर हामी कर्णालीसँग कुनै सौदाबाजी गर्न आएका होइनौँ ।’
चोखो मन र हृदय बोकेर यहाँका मुद्दालाई केन्द्रमा लिएर जाने प्रतिबद्धताका साथ आफू कर्णाली आएको उनले बताए । साथै, उनले राजनीति चुनावका लागि गर्ने विषय नभएको बताए । राजनीतिभित्र चुनाव एउटा निरन्तरको प्रक्रिया हो, तर चुनाव मात्र राजनीति हो भन्ने कुरामा रास्वपा विश्वास नगर्ने उनको भनाइ थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij