Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

सुदूरपश्चिमका डीआईजी र एसएसपी फिल्डमा, प्रहरी कार्यालय र कारागारको निरीक्षण

सुदूरपश्चिमका डीआईजी र एसएसपी फिल्डमा, प्रहरी कार्यालय र कारागारको निरीक्षण

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरीका दुई उच्च अधिकारीले डोटी र कैलालीका विभिन्न प्रहरी कार्यालय तथा सुरक्षा निकायको अनुगमन र निरीक्षण गरेका छन्। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटी र इलाका प्रहरी कार्यालय दिपायलको अनुगमन तथा निरीक्षण गरेका छन्।

यस्तै, प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टले कारागार सुरक्षा गार्ड कैलाली र वडा प्रहरी कार्यालय धनगढीको निरीक्षण गरेका छन् । शुक्रबार गरिएको निरीक्षणका क्रममा डीआईजी भट्टराईले कार्यालयहरूको भौतिक संरचना, शाखागत कार्यसम्पादन, प्रहरी कर्मचारीको कार्यविभाजन, अभिलेख व्यवस्थापन, सेवा प्रवाह तथा शान्ति सुरक्षा व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका थिए।

उनले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी इमानदारी, अनुशासन र व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिँदै नागरिकमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए। निरीक्षणमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक सागर बोहरासहित प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक तथा अन्य प्रहरी कर्मचारीको उपस्थिति थियो।

साथै डीआईजी भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल डोटीको पनि अवलोकन तथा निरीक्षण गरेका थिए । यसैगरी प्रहरी जवान आधारभूत तालिम ११(८४औँ समूहका प्रशिक्षार्थीहरूको दीक्षान्त समारोहमा पनि उनी सहभागी थिए ।

यस्तै, एसएसपी बिष्टले वडा प्रहरी कार्यालय धनगढीको निरीक्षणका क्रममा कार्यक्षेत्रको शान्ति सुरक्षाको अवस्था, सम्भावित सुरक्षा चुनौती, जोखिमयुक्त क्षेत्र तथा अपराध नियन्त्रण र रोकथामका लागि अपनाइएका रणनीतिबारे जानकारी लिएका थिए।

उनले प्रहरी आचरण र अनुशासनको उच्च पालना गर्दै जिम्मेवारीप्रति इमानदार, सचेत र जवाफदेही भएर काम गर्न निर्देशन दिएका थिए।

सम्भावित सुरक्षा जोखिम समयमै पहिचान गरी प्रभावकारी सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न, अपराध नियन्त्रण र रोकथामलाई प्राथमिकता दिन तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न उनले जोड दिएका थिए। विपद् व्यवस्थापन र पूर्वतयारीमा समेत विशेष ध्यान दिन निर्देशन दिएका थिए।

त्यसैगरी, कारागार सुरक्षा गार्ड कैलालीको निरीक्षणका क्रममा एसएसपी बिष्टले कारागारको भौतिक संरचना, सुरक्षा व्यवस्थापन, प्रहरी जनशक्तिको परिचालन, कैदीबन्दीको सुरक्षा तथा सम्भावित जोखिमबारे जानकारी लिएका थिए। उनले थुनुवा तथा कैदीबन्दीको अभिलेख चुस्तदुरुस्त र अद्यावधिक राख्न, कारागारभित्र ल्याइने सामानको कडाइका साथ जाँच गर्न तथा ड्युटी र पालोपहरा तोकिएको जिम्मेवारीअनुसार सतर्कतापूर्वक निर्वाह गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट