पोखरा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाएर मात्रै नपुग्ने भन्दै खपत वृद्धि र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुन वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन्। नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले उपभोक्ताले सुरक्षित, गुणस्तरीय र अविच्छिन्न विद्युत् सेवा पाउनुपर्नेमा जोड दिएका हुन्।
उनले विद्युत् महसुल संकलनमा भएको सुधार र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमीलाई सकारात्मक उपलब्धिका रूपमा लिँदै विद्युत् चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार गर्न निर्देशन दिए। विद्युत् खपत बढाउने अभियानमा वितरण केन्द्र प्रमुखहरू नै अग्रसर हुनुपर्ने उनको भनाइ थियो।
प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा पाँच लाख ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा दिँदै आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा एक अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन भएको छ। यो निर्धारित लक्ष्यको ९९.१ प्रतिशत हो।
ट्रान्सफर्मर जल्ने घटनामा समेत उल्लेख्य कमी आएको प्राधिकरणको तथ्यांक छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा मात्रै जलेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ७२।५ प्रतिशतभन्दा बढीको कमी हो।
गण्डकी प्रदेशमा १३ वटा वितरण केन्द्र, चार हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ। तर, विद्युत् चुहावट भने अझै चुनौतीका रूपमा देखिएको छ। प्रदेशमा हाल ६.७८ प्रतिशत विद्युत् चुहावट रहेको छ, जुन चालु आर्थिक वर्षका लागि निर्धारित ६.६५ प्रतिशतको लक्ष्यभन्दा बढी हो। चुहावटलाई निर्धारित सीमाभित्र ल्याउन मन्त्री श्रेष्ठले निर्देशन दिएका छन्।
यसैबीच, प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशको विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीपहिरोले ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुर्याएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij