सिराहा : सिराहा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार नेपाल प्रेस युनियन सिराहा शाखाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमार्फत साहले आगामी स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा करिब ३० वर्षदेखि सक्रिय साह नेविसंघ सिराहाका पूर्व जिल्ला सभापतिसमेत हुन् । उनी कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारसमेत बनेका थिए ।
पत्रकार सम्मेलनमा साहले पार्टीभित्र विभिन्न नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गर्न पाउनु विधानसम्मत अधिकार भएको बताए । तर, पार्टीले अन्तिम निर्णय गरेर जसलाई टिकट दिए पनि सबै नेता तथा कार्यकर्ता एकजुट भएर जिताउन लाग्नुपर्ने उनको भनाइ थियो।
लहान नगरपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा पहिलो पटक मेयर निर्वाचित भएपछि विकास निर्माणका धेरै काम भएको उल्लेख गर्दै साहले आगामी दिनमा पनि नगरको नेतृत्व कांग्रेसकै हुनुपर्ने धारणा राखे । कांग्रेसको नेतृत्वमा लहानको विकासले थप गति लिने उनको दाबी छ।
उम्मेदवारी घोषणा गर्दै साहले पार्टीभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij