माेरङ : विराटनगर महानगरपालिकाले प्रधानमन्त्री पार्क निर्माण कार्य सम्पन्न भएको जनाएको छ। विराटनगर वडा नम्बर २ र ७ को सीमा क्षेत्रमा रहेको घोघाहा खद्रापैनी क्षेत्रमा निर्माण भएको पार्क खुश्बु निर्माण कम्पनीले निर्माण सम्पन्न गरि महानगरपालिकालाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ।
महानगरपालिकामा शुक्रबार निर्माण कम्पनीका निर्देशक दुष्यन्तकुमार पौडेलले पार्कको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरि पार्कको संरक्षणसंगै सञ्चालनका लागि चाबी महानगरका मेयर नागेश कोइरालालाई हस्तान्तरण गरेका हुन् । चाबी बुझेसंगे महानगरका मेयर कोइरालाले पार्कको स्वामित्व र सञ्चालनसम्बन्धी जिम्मेवारी महानगर मातहत आएको बताए।
विराटनगरको लागि उत्कृष्ठ गन्तब्य बनाउने क्रममा निर्माण भएको यस ऐतिहासिक पार्कलाई व्यवस्थित रूपमा सञ्चालन गरी नगरवासीका लागि उपयोगी सार्वजनिकस्थलका रूपमा विकास गर्नु महानगरपालिकाको जिम्मेवारी भएको उनले बताए। विराटनगरमा जन्मिएका सात जना पूर्वप्रधानमन्त्रीको योगदानलाई स्मरण गर्दै उनीहरूको स्मारकसहितको पार्क निर्माण गरिएको मेयर कोइरालाले जानकारी दिए।
महानगरपालिका र निर्माण कम्पनीबीच २०७९ असोज ११ गते भएको ठेक्का सम्झौताअनुसार कम्पनीले प्रधानमन्त्री पार्क निर्माणको जिम्मेवारी पाएको थियो । यससंगै महानगरका अनुसार पार्क निर्माणका लागि कम्पनीले अन्तिम भुक्तानी रकम समेत प्राप्त गरिसकेको छ । पार्क निर्माणका लागि १७ करोड १३ लाख ४८ हजार ८४ रुपैयाँ ६६ पैसा लागत लाग्ने गरी योजना अघि बढाइएको थियो। पार्कमा प्रवेशद्वार, स्मारकस्थल, सार्वजनिक शौचालय, बाल उद्यान, खुला रङ्गमञ्च, प्रतीक्षालय तथा डुङ्गा सञ्चालन गर्ने क्षेत्रलगायतका संरचना निर्माण भएको महानगरले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij