पाल्पा : पाल्पामा ढुंगा प्रहार गरेर एक जनाको हत्या भएको छ।तिनाउ गाउँपालिका ६ सिसुवा खहरेका ४५ वर्षीय नन्दलाल बजगाईको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।
हत्याको आरोपमा सोही वडाको जन्तिलुङका ३५ वर्षीय नारायण लम्तरी पक्राउ परेका छन्। आइतबार बेलुकी ६ बजे उनीहरू सँगै बसेर मदिरा सेवन गरेका थिए। एक आपसमा सामान्य विवादपछि भएको झगडामा लम्तरीले बजगाईलाई ढुंगा प्रहार गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको भट्टराईले बताए।
टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बजगाईलाई उपचारका लागि तानसेनस्थित जिल्ला अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटना लगत्तै फरार भएका अभियुक्त लम्तरीलाई सोमबार बेलुकी पौने ७ बजे पक्राउ गरिएको छ। रैनादेवी छहरा गाउँपालिका ४ छहरामा रहेको जलधारा होटलमा लुकिछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रनाउ भट्टराईले बताए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij