Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य

लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि साबिक विजेता लुम्बिनी लायन्सले १०६ रनको लक्ष्य पाएको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रनमात्र बनायो।


सुदूरका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५२ रन जोडेर टोलीलाई उकासे। उनले ४५ बलमा अर्धशतक पूरा गरेका थिए।

सुदूरपश्चिमको सुरुवात निकै कमजोर रह्यो। इनिङ्सको पहिलो बलमै ओपनर जर्ज मुन्सी शून्यमा आउट भए भने ३.१ ओभरमा टोलीले मात्र ८ रन जोड्दा शीर्ष ३ विकेट गुमाइसकेको थियो।

अर्का ओपनर थानुका डबारे र विकेटकिपर विनोद भण्डारी समान ३/३ रनमा पेभिलियन फर्किए। पावरप्लेको ६ ओभरमा सुदूरपश्चिमले मात्र २० रन जोडेर ३ विकेट गुमाएको थियो।

त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टोलीको इनिङ्स उकास्ने प्रयास गरे। इशानले ३३ बलमा ३ चौकासहित २७ रनको योगदान दिए। सुदूरपश्चिमका लागि दीपेन्द्र र इशानबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। स्कट कुगेलेइन ७, आरिफ शेख ४ र थारिन्दु रत्नायके १ रनमा आउट हुँदा अनिल खरेल २ रनमा अविजित रहे।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २-२ विकेट लिए।यस्तै, अभिषेश गौतम र  किशोर महतोले १-१ विकेट हात पारे। आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट