रौतहट : रौतहटको राजदेवी नगरपालिका- १ मोतिपुरमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे अनियन्त्रित भई पुलमा ठोक्किएको हो।
दुर्घटनामा परी रौतहटको यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र सोही ठाउँका १६ वर्षीय प्रिन्स पासवानको ज्यान गएको छ। गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएकोमा चिकित्सकले दिउँसो ४:३० बजे मृत घोषणा गरेका थिए।
यसैगरी दुर्घटनामा परी यमुनामाई नगरपालिका-५ झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्।
घाइतेमध्ये आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। उपचाररत दुवै घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij