मनकामना : त्रिशूली र मर्स्याङ्दी नदीको संगममाथि अवस्थित पहाडको टुप्पोमा रहेको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर आस्था, विश्वास र ऐतिहासिक सम्पदाको अनुपम संगम बनेको छ । सहिद लखन गाउँपालिकामा अवस्थित मनकामना भगवतीको मन्दिरमा दर्शन गर्न देशका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् ।
बिहानीको चिसो सिरेटो, पहाडलाई ढाक्ने सेतो कुहिरो र बादलको घुम्टोबीच मनकामनाको यात्रा आफैँमा रोमाञ्चक अनुभूति दिलाउने खालको छ । केबलकारमार्फत पहाडको टुप्पोमा पुग्दा देखिने प्राकृतिक दृश्यले यात्रालाई थप आकर्षक बनाउँछ । मन्दिर परिसरमा पुग्ने भक्तजनमा दर्शनप्रतिको उत्साह र श्रद्धा उत्तिकै देखिन्छ ।
मन्दिर पुग्नुअघिको सानो पहाडी बजारमा सयपत्रीका माला, पूजाका सामग्री र रातो–पहेँलो कपडाले सजिएका पसलहरूले तीर्थयात्रीलाई स्वागत गरिरहेका हुन्छन् । बजारको उकालो पार गरेपछि देखिने फराकिलो मन्दिर परिसर र चारतले प्यागोडा शैलीमा निर्मित मनकामना भगवतीको मन्दिरले जोकोहीको ध्यान आकर्षित गर्छ ।
कुहिरोले आकाश ढाकेको समयमा समेत मन्दिरको सुनौलो छाना र धातुको पताकाले छुट्टै आकर्षण थप्छन् । मन्दिर परिसरमा रहेका पुराना पीपल र वरका वृक्ष, कलात्मक काठका थाम, झ्याल तथा दलिनले नेपाली मौलिक काष्ठकलाको ऐतिहासिक महत्त्व झल्काउँछन् ।
प्रवेशद्वारमा रहेका ढुङ्गे सिंह, सूर्य–चन्द्र अंकित पताका र मन्दिरमा बज्ने घण्टीले धार्मिक वातावरणलाई थप जीवन्त बनाउँछन् । भक्तजनहरू घण्टी बजाउँदै भगवतीको दर्शन तथा परिक्रमा गर्छन् ।
मनकामना मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई नेपाली संस्कृति, परम्परा र वास्तुकलाको महत्वपूर्ण धरोहरसमेत हो । पुस्तौँदेखि चल्दै आएको विश्वास र भक्तिभावले यस क्षेत्रको पहिचानलाई अझ बलियो बनाएको छ । बाहिर बादल र कुहिरोले पहाडलाई ढाकिरहे पनि मन्दिर परिसरमा प्रकट हुने श्रद्धा र आस्थाको उज्यालो भने सधैँ उस्तै देखिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij