काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम दुरुपयोग नहुने स्पष्ट पारेका छन्। उनले कोषको रकम पारदर्शी रूपमा राहत र पुनर्निर्माणमा खर्च भइरहेको बताएका छन्।
सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषका लागि उपलब्ध गराएको सहयोग रकम बुझ्दै मन्त्री पुनले यस्तो बताएका हुन् । उनका अनुसार बाढीपहिरोले सडक, पुल, विद्यालय र अस्पतालमा पुर्याएको क्षतिको पुनर्निर्माण तथा प्रभावितलाई राहत उपलब्ध गराउन कोषको रकम खर्च भइरहेको छ।
मन्त्री पुनले विभिन्न संघसंस्था तथा विदेशी निकायले गरेको अनुमानअनुसार हालैको बाढीपहिरोबाट करिब ३ देखि ४ खर्ब रुपैयाँ बराबरको क्षति भएको बताए। यति ठूलो क्षतिको पुनर्निर्माण गर्न राहत कोषमा जम्मा भएको रकम मात्र पर्याप्त नहुने उनको भनाइ छ।
भोटेकोशीमा आएको बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि उद्धार तथा राहत कार्यमा हेलिकप्टरको अत्यधिक प्रयोग गर्नुपरेको उनले बताए। हेलिकप्टर प्रयोगमा मात्रै ३० देखि ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको मन्त्री पुनले जानकारी दिए।
यसैबीच, नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १ करोड १७ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ। उक्त रकम सोमबार मन्त्री पुनलाई हस्तान्तरण गरिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij