Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

जलबिरेको बोक्सेखोलामा पक्की पुल निर्माण गर्ने मन्त्री पौडेलको प्रतिबद्धता, यसै वर्ष डीपीआर तयार गरी निर्माण अघि बढाइने

जलबिरेको बोक्सेखोलामा पक्की पुल निर्माण गर्ने मन्त्री पौडेलको प्रतिबद्धता, यसै वर्ष डीपीआर तयार गरी निर्माण अघि बढाइने

सिन्धुपाल्चोक : बलेफी गाउँपालिका–१ जलबिरेस्थित बोक्सेखोलामा पक्की पुल निर्माण हुने भएको छ। बलेफी–जलबिरे–तेम्बाथान सडकअन्तर्गत पर्ने उक्त खोलामा लामो समयदेखि अन्योलमा रहेको पुल निर्माणको जिम्मेवारी स्पष्ट गर्दै बागमती प्रदेश सरकारले नै पुल निर्माण गर्ने प्रतिबद्धता जनाएको हो।बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलले निवर्तमान संघीय सांसद माधव सापकोटा, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ (प्रवेश), स्थानीय जनप्रतिनिधि, पूर्वाधार विकास कार्यालयका प्राविधिक टोली, राजनीतिक दलका नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको उपस्थितिमा बोक्सेखोलामा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

 

पुल निर्माणको जिम्मेवारी संघीय वा प्रदेश सरकार कसले लिने भन्ने विषयमा लामो समयदेखि रहँदै आएको अन्योललाई अन्त्य गर्दै मन्त्री पौडेलले प्रदेश सरकारकै तर्फबाट निर्माण प्रक्रिया अघि बढाउने स्पष्ट पार्नुभएको छ। उहाँले चालु आर्थिक वर्षभित्रै पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइने बताउनुभयो।बोक्सेखोलामा पुल निर्माण भएपछि बलेफी र जुगल गाउँपालिकाका नागरिकको आवागमन सहज हुनुका साथै जुगल हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय आवश्यकता, सडक सञ्जालको विस्तार र दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेर पुल निर्माणलाई तीव्रता दिइने मन्त्री पौडेलको भनाइ छ।यसैगरी, मन्त्री पौडेलले जलबिरे–चनौटे सडक खण्डको कालोपत्रे कार्यसमेत चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयमा काम सम्पन्न हुन नसकेमा सम्झौता खारेज गरी नयाँ खरिद प्रक्रियामार्फत भए पनि सडक कालोपत्रे सम्पन्न गरिने उहाँले स्पष्ट पार्नुभयो।

 

स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वर्षौंदेखि अलपत्र र अन्योलमा रहेका योजनालाई निकास दिने, जिम्मेवारी स्पष्ट गर्ने र निर्धारित समयभित्रै निर्माण सम्पन्न गराउने मन्त्री पौडेलको प्रतिबद्धताले यस क्षेत्रका नागरिकमा विकास निर्माणप्रति नयाँ आशा र विश्वास जगाएको छ।

स्थानीय आवश्यकता र जनताको अपेक्षालाई केन्द्रमा राखेर विकासका योजनालाई कागजमा मात्र सीमित नराखी कार्यान्वयनको चरणमा पुर्‍याउने मन्त्री पौडेलको सक्रियताले बलेफी–जुगल क्षेत्रको पूर्वाधार तथा पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट