काठमाण्डौं : दाँत दुख्दा कतिपय अवस्थामा खानपिन गर्न समेत मुस्किल पर्छ। राति अचानक दाँतको दुखाइ सुरु भयो भने निद्रा नै हराउँछ। यस्तो बेला मानिसहरू तत्काल राहत पाउन घरमै उपलब्ध कुनै न कुनै उपाय खोज्न थाल्छन्।हाम्रा घरहरूमा हजुरआमाहरूको पालादेखि नै एउटा यस्तो वस्तु प्रयोग हुँदै आएको छ, जुन प्रायः हरेक भान्सामा सजिलै पाइन्छ। महत्त्वपूर्ण कुरा, यसको प्रयोग दाँतको दुखाइबाट राहत पाउन समेत गरिन्छ। हामी यहाँ ल्वाङको चर्चा गर्दैछौँ।
दाँतको दुखाइमा ल्वाङ किन प्रभावकारी हुन्छ ?
ल्वाङको प्रयोग खानाको स्वाद बढाउन मात्र नभई प्राचीन कालदेखि नै दाँतको दुखाइ कम गर्न समेत गरिँदै आएको छ। यसमा ‘युजेनोल’ नामक तत्त्व पाइन्छ, जसमा दुखाइ कम गर्ने र सुन्निएको घटाउने गुण हुन्छ। यसै कारण दाँतको दुखाइमा ल्वाङको तेल निकै उपयोगी मानिन्छ।
प्रयोग गर्ने सही र सुरक्षित तरिका
दाँत दुख्दा सिङ्गो ल्वाङलाई दुखेको ठाउँमा राख्न सकिन्छ। यसलाई हल्का दबाएर राख्दा यसबाट रस निस्कन्छ। यसबाहेक ल्वाङको तेल पनि प्रयोग गर्न सकिन्छ। त्यसका लागि कपासमा थोरै ल्वाङको तेल लगाएर दुखेको दाँतनजिक होसियारीपूर्वक राख्नुपर्छ। तर ल्वाङको तेल प्रत्यक्ष रूपमा गिजामा बढी मात्रामा नलगाउन सतर्क रहनुपर्छ।
दाँत सफा नगर्नु नै दुखाइको मुख्य कारण
दाँतको उचित सरसफाइ नगर्नु नै दाँत दुख्नुको मुख्य कारण भएको आयुष चिकित्सा अधिकृत डा. मोहम्मद इकबाल बताउँछन्। थुप्रै मानिस राति ब्रस नगरी सुत्ने गर्छन्। त्यसो गर्दा दाँतमा खानाका साना टुक्राहरू अड्किएर रहन्छन् र बिस्तारै ‘क्याभिटी’ (कीरा लाग्ने समस्या) सुरु हुन सक्छ। त्यसैले राति सुत्नुअघि दाँत राम्रोसँग सफा गर्नैपर्छ।
निमको दतिउन र गुलियो खाएपछि कुल्ला गर्न आवश्यक
वरपर निमको हाँगा उपलब्ध भएमा निमको दतिउन प्रयोग गर्न सकिने उनले जानकारी दिए। यसका अतिरिक्त ल्वाङको प्रयोग पनि गर्न सकिन्छ। विशेषगरी गुलियो खानेकुरा खाएपछि मुख सफा गर्नु अत्यावश्यक हुन्छ। गुलियो पदार्थ दाँतमा टाँसिइरहने हुँदा ब्याक्टेरिया फैलिने जोखिम रहन्छ। त्यसैले कुनै पनि गुलियो चिज खाएपछि पानीले राम्रोसँग कुल्ला गर्नुपर्छ।
ब्याक्टेरिया र ‘प्लाक’ बाट छुटकारा दिलाउँछ निमले
निमको दतिउन गर्नाले दाँत तथा गिजा सफा राख्न मद्दत पुग्छ। निममा एन्टिब्याक्टेरियल गुण हुने हुँदा यसले मुखमा ब्याक्टेरिया कम गर्न र गिजालाई स्वस्थ राख्न सहयोग गर्छ। यसबाट मुख गन्हाउने र ‘प्लाक’ (दाँतमा फोहोरको पत्र जम्ने समस्या) बाट जोगिन समेत मद्दत मिल्छ। यसरी ल्वाङ र निम जस्ता घरेलु उपाय अपनाएर दाँतको हेरचाह गर्न र दुखाइबाट धेरै हदसम्म राहत पाउन सकिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij