बर्दिया : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । हिउँदेबाली लगाउन खेत जोत्ने, मल तथा बीउ खरिद गर्ने र घरायसी खर्च जुटाउनुपर्ने भएपछि किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा निकै कम मूल्यमा धान बिक्री गरिरहेका छन् ।गुलरिया नगरपालिका–१२ भैसाहीका अगुवा किसान जगमोहन थारूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै धान खरिद नगर्दा सस्तो मूल्यमा धान बिक्री गर्नुपरेको बताए । उनले प्रतिक्विन्टल रु दुई हजार ८०० का दरले ३०० क्विन्टल धान बिक्री गरेको जानकारी दिए ।
उनले भने, “हिउँदेबाली लगाउन खेत जोत्ने खर्च र घरायसी आवश्यकता पूरा गर्न धान सस्तोमा बिक्री गर्नुपरेको छ ।” उनीजस्तै बढैयाताल गाउँपालिका–७ का किसान रामदेव थारूले पनि सस्तो मूल्यमा धान बिक्री गरेका छन् । मल तथा हिउँदेबालीका लागि बीउ खरिद गर्न रकम अभाव भएपछि शनिबार धान बिक्री गरेको उनले बताए ।बर्दियामा अहिले मोटा धान प्रतिक्विन्टल रु दुई हजार ९०० मा बिक्री भइरहेको छ । बढैयाताल गाउँपालिका–५ बढैयागाउँका गल्ला व्यापारी सुरेश थारुले मोटा धान प्रतिक्विन्टल रु दुई हजार ९०० र मसिनो धान रु चार हजारका दरले खरिद गरिरहेको बताए ।
बर्दियामा धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले मङ्सिर ३ गतेदेखि धान खरिद गर्ने जनाएको छ । गत वर्ष कात्तिक १९ गतेदेखि खरिद सुरु गरेको कम्पनीले यस वर्ष करिब दुई साता ढिलो प्रक्रिया अघि बढाउँदा किसानले आधाभन्दा बढी धान सस्तो मूल्यमा बिक्री गरिसकेको नेपाल किसान महासङ्घका अध्यक्ष बिपी भण्डारीले बताए । किसानको धान समयमै खरिद गर्न कम्पनीलाई दबाब दिँदै आएको उनले जानकारी दिए ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले यस वर्ष बर्दियाबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । कम्पनीका वरिष्ठ सहायक एवं सूचना अधिकारी चेतमान कठायतले गत वर्षझैँ यस वर्ष पनि बर्दियाका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने अनुमति प्राप्त भएको बताए ।
जिल्लाको प्राथमिक खरिद समितिले बीचमा तिहार बिदा परेका कारण मङ्सिरको पहिलो सातादेखि धान खरिद गर्ने निर्णय गरेको उनले जानकारी दिए । जिल्लाका आठवटै पालिकाबाट प्रतिपालिका तीन हजार क्विन्टलका दरले धान खरिद गर्ने योजना रहेको कठायतले बताए । उनका अनुसार २४ हजार क्विन्टल धान पालिकामार्फत र बाँकी छ हजार क्विन्टल कम्पनीको आफ्नै परिसरबाट खरिद गरिनेछ ।सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको रु तीन हजार ८६० तोकेको छ । गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ र मध्यम धानको रु तीन हजार ६२८ तोकिएको थियो ।बर्दियामा ५० हजार एक सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट दुई लाख २८ हजार ८१ मेट्रिक टन धान उत्पादन हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि प्राविधिक अधिकृत एवं सूचना अधिकारी फिर्तुमान चौधरीले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij