काठमाडौंः अमेरिकामा लगातार तेस्रो दिन पनि हवाई सेवा प्रभावित भएको छ। आइतबार मात्रै देशभर १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ भएका छन्। उड्डयनसम्बन्धी तथ्याङ्क वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान डिले भएका छन्।
शनिबार पनि ६ हजार ४०० भन्दा बढी उडान रद्द र ८ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए। अमेरिकाका यातायातमन्त्री सीन डफीले आइतबार एबीसीको कार्यक्रम ‘दिस विक’मा बोल्दै सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा व्यक्त गरेका छन्।
उनले घटनामा साइबर आक्रमण वा कुनै दुर्भावनापूर्ण गतिविधि भएको प्रमाण नरहेको बताए। यद्यपि, समस्या उत्पन्न हुनुको वास्तविक कारण अझै पत्ता लाग्न नसकेको उनको भनाइ छ। आइतबार जेटब्लुका २८ प्रतिशत र अमेरिकन एयरलाइन्सका १७ प्रतिशत उडान रद्द भएका थिए। युनाइटेड, साउथवेस्ट र डेल्टा एयरलाइन्सका पनि ३ देखि ५ प्रतिशतसम्म उडान रद्द भएका थिए।
शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले देशव्यापी ग्राउन्ड स्टप जारी गरेपछि झन्डै पाँच घण्टासम्म अधिकांश प्रस्थान गर्ने उडान रोकिएका थिए। सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकी हवाई सेवामा भएको यो सबैभन्दा लामो देशव्यापी अवरोध थियो।
अधिकारीहरूका अनुसार एफएएका ठेकेदार कम्पनी एलथ्रीह्यारिसले नयाँ राउटर जडान गरेपछि हवाई ट्राफिक नियन्त्रण केन्द्रका सञ्चार प्रणालीमा समस्या उत्पन्न भएको थियो। अर्कान्सासको एल डोराडोस्थित एफएए कार्यालयमा राउटर परिवर्तन गर्दा टेक्सासको अमारिलोस्थित अर्को राउटर प्रभावित भएको र त्यसले देशभरका अन्य हवाई ट्राफिक नियन्त्रण केन्द्रका राउटरमा अत्यधिक डेटा प्रवाह गराएको यातायातमन्त्री डफीले बताएका छन्।
एफएएका अनुसार समस्याको स्रोत मानिएका राउटरहरूको कार्यक्षमता निष्क्रिय पारिएको छ। यस्तै, हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेका करिब ६० वटा समान राउटरलाई पनि निष्क्रिय बनाइएको छ। तर, नियमित मर्मतसम्भारका क्रममा यस्तो समस्या किन आयो भन्नेबारे अझै स्पष्ट हुन नसकेको डफीले बताएका छन्।
समस्या उत्पन्न गराउने राउटरहरू सन् २००१ मा खरिद गरिएका थिए भने सन् २००६ मै ती पुराना प्रविधिका रूपमा वर्गीकृत भइसकेका थिए। अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणाली पुरानो प्रविधि, उपकरण तथा सञ्चार समस्याका साथै हजारौं कर्मचारीको अभावबाट समेत प्रभावित हुँदै आएको छ।
प्रविधि सुधारका लागि थप ५० अर्ब डलर माग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइतबार हवाई सेवा अवरोधबारे पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि थप बजेट आवश्यक रहेको बताएका छन्।
उनले काम शुरू भइसकेको भएपनि टुक्राटुक्रामा नभई एकैपटक सम्पन्न गर्नुपर्ने भन्दै अमेरिकी संसद्सँग बजेट स्वीकृत गर्न सामाजिक सञ्जालमार्फत् आग्रह गरेका छन्। यातायातमन्त्री डफीले यसअघि माग गरेको ३० अर्ब डलरलाई बढाएर ५० अर्ब डलर पु¥याउनुपर्ने बताएका छन्। गत वर्ष अमेरिकी संसद्ले यस प्रणालीको सुधारका लागि १२ अर्ब ५० करोड डलर स्वीकृत गरेको थियो।
तर, उक्त रकममध्ये करिब ११ अर्ब डलर अझै खर्च नभएको भन्दै डेमोक्र्याटिक सांसद रिक लार्सन र आन्द्रे कार्सनले थप बजेट माग्नुको औचित्यमाथि प्रश्न उठाएका छन्। डफीका अनुसार गत वर्ष स्वीकृत रकम निश्चित क्षेत्रमा मात्र खर्च गर्न मिल्ने गरी छुट्याइएको थियो। हवाई क्षेत्र व्यवस्थापन गर्ने नयाँ सफ्टवेयर खरिदका लागि भने त्यसमा बजेट समावेश थिएन।
अन्तर्राष्ट्रिय विमानस्थल परिषद् (एसीआई)का महानिर्देशक जस्टिन एर्बाचीले हवाई पूर्वाधार सुधारका लागि सरकारी लगानीमा मात्र निर्भर हुन नसकिने बताएका छन्। यस क्षेत्रमा निजी क्षेत्रको लगानी पनि आवश्यक रहेको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)का अनुसार सन् २०५० सम्म विश्वव्यापी हवाई यात्रुको संख्या अहिलेको तुलनामा दोब्बरभन्दा बढी हुने अनुमान छ। यस्तो अवस्थामा बढ्दो हवाई चाप व्यवस्थापन गर्न पुराना प्रविधि र पूर्वाधारको समयमै सुधार गर्नुपर्ने देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij