सप्तरी : सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
हराएको बाख्रा खोज्न जंगलछेउ पुगेका स्थानीय ६५ वर्षीय गोपी चौधरीको हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको हो।
स्थानीयका अनुसार बाख्रा खोज्ने क्रममा चौधरीसहित चार-पाँच जना गाउँको पूर्व–उत्तर दिशामा पर्ने जंगलनजिकैको गोठतर्फ गएका थिए। सोही क्रममा उनीहरू नजिकै हात्ती देखापरेको थियो। प्रत्यक्षदर्शीका अनुसार ‘हात्तीको आवाज सुनेर चौधरी ठुलो स्वरमा कराएका र त्यसपछि आक्रोशित बनेको हात्तीले उनलाई लखेटेर आक्रमण गरेको’ थियो। हात्तीको प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनाको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान अघि बढाएको जनाएको छ।
यस घटनापछि सुरुङ्गा–४ लगायत आसपासका बस्तीमा सन्त्रास फैलिएको छ। पछिल्लो समय जंगल आसपास जंगली हात्तीको आवागमन बाक्लिँदै जाँदा मानव–वन्यजन्तु द्वन्द्वको जोखिम फेरि बढेको छ। स्थानीय बासिन्दाको जीउधनको सुरक्षाका लागि सम्बन्धित वन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहले हात्तीको आवागमनबारे पूर्वसूचना प्रणाली, प्रभावकारी निगरानी र सुरक्षा व्यवस्था मिलाउनुपर्ने देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij