काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरूले निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरेका छन्।शनिवार ललितपुरमा आफू पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालत कुनैपनि प्रलोभनमा बिक्ने संस्था नभएको बताए। उनले अदालतले निष्पक्ष न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरूमाथि अन्याय नहुने जिकिर गरे।
देउवाले पञ्चायतकालदेखि नै अदालतले निष्पक्ष न्याय दिएको स्मरण गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको समयमा आफूलाई शाही आयोगमार्फत जेल हालिएको प्रसङ्ग पनि सुनाए।
त्यतिबेला राजाको प्रत्यक्ष शासन रहेका कारण सर्वोच्च अदालतले आफूलाई न्याय दिन सक्ला कि नसक्ला भन्ने आशङ्का रहे पनि अदालतले साहस गरेर आफूलाई रिहा गरेको उनले बताए।
राजाको शासनकालमा समेत न्याय दिनसक्ने अदालतले अहिले पनि पार्टीको आधिकारिकता विवादमा निष्पक्ष न्याय गर्ने उनको विश्वास छ।
उनले आफूहरूले न्याय पाउने र अन्ततः आफ्नो पक्षको जित हुने दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij