Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

भदौ २३ र २४ गते भएको अराजकलाई बैधानिकता दिन फागुनमा निर्वाचन गरियो : ओली

भदौ २३ र २४ गते भएको अराजकलाई बैधानिकता दिन फागुनमा निर्वाचन गरियो : ओली

काठमाडौं : पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनको तयारीलाई गम्भीर भएर लाग्ने बताए ।

उनले स्थानीय तह र प्रदेशसभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको उल्लेख गरे । स्थानीय तह निर्वाचन केवल स्थानीय सरकार गठनमा सिमित नरहेको उल्लेख गर्दै उनले यसले राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता तयार गर्ने बताए ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

उनले भने–‘अब निर्वाचनहरू आउँदै छन् । अब तुरुन्तै हाम्रा अगाडि स्थानीय तहको निर्वाचन आउँछ । स्थानीय तहको निर्वाचन भनेको स्थानीय तहको निर्वाचन मात्रै होइन । त्यो भोलि गएर राष्ट्रिय सभाको निर्वाचन पनि हो । स्थानीय तहमा प्रमुख, उपप्रमुख जो हुन्छन्, उनीहरूले भोट हाल्ने हो राष्ट्रिय सभालाई । यसको स्थानीय तहमा सरकार बनाउने अथवा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख, सदस्यहरू, कार्यकारिणी आदि बनाउने कुरासँग मात्रै सम्बन्धित छैन । त्यसकारण यो निर्वाचन राष्ट्रिय सभामा मतदाता तयार गर्ने निर्वाचन हो ।’

त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा निर्वाचनका लागि थप मतभार भएका मतदाता चयन गर्ने उनले बताए । प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता समेत हुने भएकाले आगामी निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले भने–‘देश विकासका काम गर्न, भ्रष्टाचार रोक्न, जनताको सेवा पुर्‍याउन, स्थानीय तहबाट विकासका कामहरूलाई अगाडि बढाउन, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन यो स्थानीय तहको निर्वाचनको असाधारण महत्व छ । एक वर्षपछि प्रदेश सभाको निर्वाचन हुन्छ ।’

आगामी दिनमा स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने उल्लेख गर्दै यी सबै निर्वाचनलाई रणनीतिक महत्वका साथ लिनुपर्ने बताए । उनले स्थानिय तहको निर्वाचनलाई फोकस गरेर संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । कार्यकर्ताबीचमा एकता नहुँदा एमालेले निर्वाचनमा धक्का व्यहोर्नुपरेको उनको भनाइ छ ।

उनले भने–‘राष्ट्रपति निर्वाचनमा राष्ट्रपति निर्वाचनका लागि मतदाता भनेका प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभाका सदस्य हुन् । स्थानीय तहको निर्वाचन, प्रदेश सभाको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, यी निर्वाचनहरू हाम्रा अगाडि आउँदै छन् ।’

उनले गत फागुनमा भएको निर्वाचन भदौ २३ र २४ गते भएको अराजकलाई बैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर गरिएको आरोप लगाए ।

उनले पार्टीको जिम्मेवारीमा बसेर पार्टीकै उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न पनि निर्देशन दिएका छन्।

उनले भने–‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो।’

फागुन २१ को चुनावमा पार्टीको सङ्गठित सदस्य रहेकाभन्दा कम मत आएकोप्रति असन्तुष्टि जनाए। उनले नेता कार्यकर्तालाई स्थानीय र प्रदेशसभाको चुनावमा केन्द्रित हुन पनि निर्देशन दिए।

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति आपत्ति

अध्यक्ष ओलीले दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति आपत्ति जनाए । ओलीले व्यवसायिक उत्पादन बैशाखदेखि नै हुनुपर्नेमा सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै आपत्ति जनाएका हुन्।

उनले खानीबाट नेपालले अर्बौं लाभ लिन सक्ने भएपनि सरकारले काम रोकेको बताए। ओलीले भने–‘कुनै काम हुन नसक्ने गरी रोक लगाइएको छ। कतिपय विकास निर्माणका काम रोकिएको छ र ठेक्का रद्ध गरिएको छ।’

उनले एमाले इमानको प्रतिमूर्ति हुनुपर्नेमा पछिल्लो समय त्यो देखिन छाडेको र स्वार्थ अनुसार अगाडि बढ्ने गरेको बताए। उनले अरुलाई आलोचना गर्दा गर्दै एमाले भित्रको अवस्था कस्तो भएको छ मूल्याङ्कन गर्नुपर्ने र प्रतिबद्ध हुनुपर्ने दोहोर्‍याए।

अध्यक्ष ओलीले अहिले नेता धेरै तर काम हुने गरेको बताए। उनले पहिले नेता कम भएपनि काम हुने र नेता-कार्यकर्ता जनताका बीचमा हुने गरेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट