सिन्धुपाल्चोक : बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले सिन्धुपाल्चोकको सुकुटे–मिलडाँडा–बाघभैरव–वाफल–लिसंखु–घ्याङडाँडा–२१ किलो सडकको स्तरोन्नति तथा कालोपत्रे कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।
प्रदेश लोकमार्गअन्तर्गत पर्ने उक्त सडकलाई बहुवर्षीय योजनामा समेटेर निर्माण तथा कालोपत्रेको प्रक्रिया अघि बढाइने मन्त्री पौडेलले बताउनुभएको हो।
निवर्तमान संघीय सांसद माधव सापकोटा, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा तथा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको प्राविधिक टोलीसहित मन्त्री पौडेलले सुनकोसी गाउँपालिका–१ र २ तथा लिसंखुपाखर गाउँपालिकाभित्र पर्ने सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको थियो।
निरीक्षणका क्रममा मन्त्री पौडेलले उक्त सडकलाई स्थानीयको आवागमन सहज बनाउने माध्यमका रूपमा मात्र नभई क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँले मुख्य सडकसँग जोडिएका शाखा सडकहरूको समेत स्तरोन्नति गरी ग्रामीण बस्तीलाई सहज यातायातको पहुँचमा ल्याउने योजना रहेको उल्लेख गर्नुभयो। सडक निर्माण गर्दा स्थानीय बस्ती, उत्पादन, बजार तथा पर्यटकीय गन्तव्यलाई समेत जोड्नुपर्नेमा उहाँको जोड थियो।
सोही क्रममा मन्त्री पौडेलले लिसंखुपाखर गाउँपालिका–२, घ्याङडाँडास्थित झ्याङछ्यु छ्योइलिङ गोन्पाको समेत निरीक्षण गर्नुभएको थियो। गोन्पामा निर्माणाधीन तथा अधुरा रहेका पूर्वाधार सम्पन्न गर्ने र धार्मिक तथा सांस्कृतिक महत्वका स्थलको संरक्षण एवं प्रवर्द्धनमार्फत पर्यटन विकास गर्ने विषयमा छलफल भएको जनाइएको छ।
स्थलगत निरीक्षणका क्रममा मन्त्री पौडेलले स्थानीय आवश्यकता, निर्माणाधीन योजनाको अवस्था र विकासका प्राथमिकताबारे जानकारी लिनुभएको थियो। विकास योजना छनोटदेखि कार्यान्वयनसम्म स्थानीय नागरिकको आवश्यकता र प्रत्यक्ष लाभलाई केन्द्रमा राखेर काम गरिने उहाँले बताउनुभयो।
प्रदेश सरकारको सीमित स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै लामो समयदेखि अपेक्षा गरिएका विकासका पूर्वाधारलाई योजनाबद्ध रूपमा अघि बढाउने मन्त्री पौडेलको प्रतिबद्धता छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij