Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

‘सरकारलाई नयाँ वर्ष देख्न दिनु हुँदैन, अन्य दलसँग मिलेर आन्दोलन चर्काउँछौँ’ : महेश बस्नेत

‘सरकारलाई नयाँ वर्ष देख्न दिनु हुँदैन, अन्य दलसँग मिलेर आन्दोलन चर्काउँछौँ’ : महेश बस्नेत

काठमाडौँ : नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहेको दाबी गरेका छन् । पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई आउँदो नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताएका हुन् ।सरकारका जनविरोधी कदमविरुद्ध सशक्त राजनीतिक आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि एमालेले आवश्यकताअनुसार अन्य राजनीतिक दलहरूसँग समेत सहकार्य गर्ने स्पष्ट पारे । सरकारविरुद्धको सङ्घर्षलाई प्रभावकारी बनाउन पार्टीको साङ्गठनिक संरचनालाई थप सुदृढ बनाउनुपर्ने बस्नेतको भनाइ थियो। 

वर्तमान सरकार र सत्तारूढ दलको नेतृत्व सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनले सरकारका अलोकतान्त्रिक क्रियाकलापलाई प्रविधिको अधिकतम प्रयोग गरी जनतामाझ उजागर गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।सत्तापक्षको कार्यशैलीको चर्को आलोचना गर्दै बस्नेतले भने–  ‘सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा मुछिएको यो सरकारको आयु धेरै लामो छैन, यसलाई आउँदो नयाँ वर्ष देख्न दिनु हुँदैन। अन्य दलहरूसँग सहकार्य गर्दै आन्दोलन र साङ्गठनिक सुदृढीकरणको कार्यभार बोकेर एमाले अघि बढ्नेछ।’पार्टीका तल्लो तहका कमिटीहरूलाई मजबुत बनाएर मात्रै आन्दोलन र चुनावी मोर्चा सफल हुने उनले बताए । आगामी स्थानीय तह तथा प्रदेश तहको निर्वाचनको तयारीमा अहिलेदेखि नै जुट्न आह्वान गर्दै सचिव बस्नेतले ती निर्वाचनहरूमा एमालेलाई पुनः पहिलो शक्तिका रूपमा स्थापित गर्ने गरी योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट