Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

भीमफेदी दुर्घटना : चक्रघट्टामा शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत

भीमफेदी दुर्घटना : चक्रघट्टामा शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत

काठमाडौँ : काठमाडौँबाट सर्लाही जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी साधन मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त भई ठुलो संख्यामा मानवीय क्षति भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले पालिकाभरि आज एक दिन स्थानीय शोक बिदा घोषणा गरेको छ । यस्तै गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका स्थानीय नागरिकका परिवारलाई काजक्रिया खर्चस्वरूप प्रति मृतक ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले  एक शोक वक्तव्य जारी गर्दै जानकारी दिएका हुन् ।  काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकातर्फ आउँदै गरेको विद्युतीय सवारी साधन कात्तिक २६ गते बिहान मकवानपुर जिल्लाको भीमफेदी क्षेत्रमा  दुर्घटनामा परेको थियो । सो दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरको मात्रै १३ जना यात्रुहरूको  मृत्यु भएको थियो । छठ पर्व मनाउन घर फर्किने क्रममा आफ्ना नागरिकहरूको अकालमै ज्यान गुमेपछि सिङ्गो सुन्दरपुर गाउँ र चक्रघट्टा क्षेत्र स्तब्ध तथा शोकमग्न बनेको छ ।  

 मृतकहरूको अन्तिम संस्कार र धार्मिक काजक्रिया कार्यमा सहयोग पुर्‍याउन गाउँपालिकाको तर्फबाट प्रति मृतक पचास हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिने निर्णय गरेको छ ।  दुर्घटनामा परेर घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पालिकाले उपचारमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाएको छ । शोक बिदाका दिन पालिका क्षेत्रभित्रका प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाह बन्द रहे तापनि स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट