बुटवल : रूपन्देहीको सैनामैना नगरपालिका–११, सालझण्डीका कृष्ण भट्टराई सामान्य किसान परिवारमा जन्मिएका हुन् । २०५१ सालमा जन्मिएका उनको बाल्यकाल अभाव र संघर्षबिच बित्यो ।कृष्णको पुर्ख्यौली घर बागलुङको निसीखोला गाउँपालिका, थापागाउँ हो । २०६३ सालमा बसाइँ सरेर उनका बुबाआमा सैनामैनाको सालझण्डी आएका थिए ।परिवारमा दुई दाइ र एक बहिनी छन् । किसान परिवारमा हुर्किएका कृष्णले सानैदेखि केही फरक गर्ने सोच बनाएका थिए । स्थानीय विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनले पढाइसँगै सानोतिनो व्यापार व्यवसाय गर्ने योजना बनाए ।२०६९ सालमा एसएलसी दिएपछि उनले एक बिघा खेत भाडामा लिएर धानखेती सुरु गरे, तर अत्यधिक वर्षाका कारण खेत डुबानमा पर्यो । उनको लगानी र मेहनत खेर गयो । त्यसपछि उनले गाउँमै कुखुरा फार्म सञ्चालन गरे । तर, त्यही समयमा बर्डफ्लु महामारी फैलियो । बजार प्रभावित भयो र उनको व्यवसाय पनि सङ्कटमा पर्यो ।
व्यवसायमा लगातार असफलता र पढाइलाई समेत निरन्तरता दिन नसकेपछि उनी रोजगारीको खोजीमा भारतको पञ्जाब पुगे ।गाउँमा संघर्ष गरेका कृष्णका लागि पञ्जाबको बसाइ पनि सहज भएन । त्यहाँ उनले करिब तीन वर्षसम्म विभिन्न होटल तथा क्याटरिङमा काम गरे । खाना पुर्याउनेदेखि क्याटरिङमा भाँडा उठाउनेसम्मका काम गरेको विगत उनी स्मरण गर्दछन् ।तीन वर्षपछि उनी स्वदेश फर्किए । त्यसपछि उनले सैनामैनामै मासु पसल सञ्चालन गरे । पछि बागलुङ फ्रेस हाउस नामबाट उनले व्यवसाय अघि बढाए, तर अपेक्षित आम्दानी हुन सकेन । त्यसपछि उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरे ।
वैदेशिक रोजगारीको प्रक्रिया पूरा गर्न म्यानपावर कम्पनी धाउन थालेका उनी अन्ततः दुबई पुगे । कम्पनीले पाइप फिटिङको काम गर्ने भन्दै पठाएको थियो, तर त्यहाँ पुगेपछि उनले फायर फिटिङ अर्थात् आगलागी नियन्त्रण प्रणाली जडान तथा सञ्चालनसम्बन्धी काम गर्नुपर्यो ।काम कठिन थियो । त्यसमाथि स्वास्थ्यमा समेत समस्या देखियो । सुरुमा कम्पनीले उनलाई मासिक ७५० दिराममात्रै तलब दिन्थ्यो । कामअनुसारको पारिश्रमिक नपाउँदा उनी निराश भए । जीवनमा जहाँ पुगे पनि संघर्षले नछाडेको अनुभूति उनलाई भयो ।तर, उनले हार मानेनन् । पछि कम्पनीले उनलाई अर्को जिम्मेवारीमा खटायो । नयाँ काममा उनको अवस्था सुधार हुँदै गयो । काम र आम्दानीका हिसाबले उनले पहिलेभन्दा राम्रो अवसर पाए । त्यसबाट विगतमा पाएको दुःख र कष्टलाई बिस्तारै भुलाउँदै लगेको उनले बताए ।
संघर्षबाट उद्यमी, अहिले अरूलाई रोजगारी
केही वर्षसम्म कडा संघर्ष गरेका कृष्ण भट्टराईले अन्ततः दुबईमा आफ्नो अवस्था सुधार्दै लगे । कम्पनीमा निरन्तर मेहनत र लगनशीलताका साथ काम गरेपछि उनको जिम्मेवारीसँगै पारिश्रमिक पनि बढ्यो । त्यसपछि उनले जागिरसँगै आफ्नै व्यवसायमा समेत लगानी गर्न थाले ।भट्टराईले दुबईको बुजुमानमा आफ्नो गाउँको नामबाट ‘सैनामैना खाजा घर’ सञ्चालनमा ल्याएका छन् । दुबईमै ट्राभल एजेन्सी र कपडा पसलमा पनि उनले लगानी गरेका छन् । बुजुमानस्थित सैनामैना खाजा घरमा अहिले सात जना नेपालीले रोजगारी पाएका छन् । ट्राभल एजेन्सी र कपडा पसलमा भने उनको २० प्रतिशत लगानी छ ।विदेशमा व्यवसाय विस्तार गरेका भट्टराईले आफ्नै गाउँमा पनि सम्पत्ति जोडेका छन् । उनका दाइहरू सामान्य पसल सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन् । कृष्णले भने छुट्टै खेत र राम्रो स्थानमा घडेरीसमेत जोड्न सफल भएका छन् ।
हिजो आफैँ रोजगारी र अवसरको खोजीमा संघर्ष गरेका कृष्ण आज विदेशमा सात जना नेपालीलाई रोजगारी दिने अवस्थामा पुगेका छन् ।उनले भने, ‘नेपाल र भारतमा धेरै हन्डर खाइयो, तर दुबईमा उद्यमशीलतातर्फ यात्रा गरिरहेको छु ।’ यो यात्राले निरन्तर मेहनत र उद्यमशीलताबाट विदेशमा पनि आफ्नो पहिचान बनाउन सकिने उदाहरण प्रस्तुत गरेको उनले दाबी गरे ।
सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय
व्यवसायसँगै कृष्ण भट्टराई सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन् । उनी टिकटक र फेसबुकमार्फत राजनीतिक तथा सामाजिक गतिविधिलाई व्यङ्ग्यात्मक र मौलिक शैलीमा प्रस्तुत गर्छन् । हँसिलो स्वभाव, रमाइला प्रस्तुति र स्थानीय भाषाशैलीका कारण उनका सामग्री धेरैले रुचाउने गरेका छन् ।उनले करिब ६ वर्षअघि टिकटक चलाउन सुरु गरेका थिए । उनको पहिलो टिकटक अकाउन्टमा ४ लाखभन्दा बढी फलोअर्स पुगेका थिए । दुईपटक उनको अकाउन्ट बन्द भएपछि अहिले तेस्रो अकाउन्ट सञ्चालन गरिरहेका छन्, जसमा ३ लाखभन्दा बढी फलोअर्स छन् । फेसबुकमा पनि दुईपटक अकाउन्ट बन्द भएको उनी बताउँछन् । हाल उनको फेसबुक पेजमा २ लाख ८५ हजार फलोअर्स छन् ।यति ठुलो संख्यामा फलोअर्स भए पनि उनले सामाजिक सञ्जाललाई अहिलेसम्म नियमित आम्दानीको स्रोत बनाउन सकेका छैनन् । सामाजिक सञ्जालबाट हुने आम्दानीलाई भन्दा आफ्नै व्यवसायलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
दुबईमा कुनै पसल वा व्यवसायको प्रचारप्रसार गर्दा भने एक हजारदेखि १५ सय सम्म दिराम पारिश्रमिक पाउने गरेको कृष्ण बताउँछन् । तर अहिले आफ्नै व्यवसायमा व्यस्त भएकाले अरुको प्रचारप्रसारका लागि समय दिन नसकेको उनले बताए ।फुर्सद मिल्नेबित्तिकै भने आफ्ना सामाजिक, राजनीतिक तथा समसामयिक विषयवस्तु समेटिएका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्न उनी छुटाउँदैनन् । उनले सामाजिक सञ्जालबाट आफ्नो व्यापार विस्तार गर्न तथा लगानीका लागि साथीभाइको सहयोग लिन सहज भएको बताए ।हिजो आफ्नो कष्टकर अवस्थासँगै अहिले सामाजिक सम्बन्धलाई विस्तारमा फेसबुक तथा टिकटकले धेरै मद्दत पुगेको कृष्ण बताउँछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij