रौतहट : हेटौंडा भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका दसैजना सर्लाही जिल्लाको एउटै वडाका परेका छन् । हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदीमा दुर्घटना भएको हो । घटनास्थलमै ३ महिला, २ बालिका र ५ पुरुषको मृत्यु भएको थियो । एक तीन वर्षका बालकलाई भने दुर्घटनास्थलभन्दा केही माथि डाँडामा जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरु सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका रहेको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । ‘छठपर्व मनाउन आउँदै रहेछन्, सबै दुर्घटनामा परे । अत्यन्तै दुखद घटना भयो,’ उनले भने, ‘मृत्यु हुनेमा दसैजना एउटै वडा नम्बर ४ का रहेका छन् ।’ घटनास्थलतर्फ अध्यक्ष यादव आफै गएका छन् । उनले मृतकहरु कोको परे भनेर बुझ्ने काम भइरहेको जानकारी दिए । अहिले सिंगो गाउँ शोकमा परेको छ ।
दुर्घटनामा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव घाइते छन् । उनीहरुको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । काठमाडौंबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रो चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । छठपर्व मनाउन घर आउँदै गरेका सर्लाहीका यात्रु लिएर काठमाडौंबाट बिहीबार बिहान गाडी हिँडेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij