Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

युक्रेनमा विद्यालय भवनमा रुसी बम आक्रमण, ३३ जनाको मृत्यु

युक्रेनमा विद्यालय भवनमा रुसी बम आक्रमण, ३३ जनाको मृत्यु

काठमाडौंः रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु भएको छ। आक्रमणमा परी अन्य ५० जना बेपत्ता भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उक्त घटनालाई रुस–युक्रेन युद्धकै सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएका छन्। स्थानीय प्रशासनका अनुसार जापोरिजिया क्षेत्रको कोमिशुभाखा नगरस्थित उक्त भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए। भवनलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा समेत प्रयोग गरिएको थियो।

स्थानीय गभर्नर मिखाइलो सेमिकिनका अनुसार भवनको भूमिगत भागमा युरोपेली संघको आर्थिक सहयोगमा निर्माण गरिएको बलियो आश्रयस्थल थियो। गत वर्ष निर्माण गरिएको उक्त संरचना अधिकांश हवाई आक्रमणको प्रभाव सहन सक्ने गरी बनाइएको थियो। तर, शक्तिशाली बमको प्रहारबाट कङ्क्रिट संरचना भत्किएपछि आगलागीसमेत भएको थियो।

युद्धका कारण विद्यालय सञ्चालन हुन नसकेपछि उक्त भवनलाई स्थानीय प्रशासनिक कार्यालय र मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिँदै आएको थियो। आक्रमण हुँदा त्यहाँ स्थानीय बासिन्दा राहत सामग्री लिन भेला भएका थिए।

युक्रेनस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले मंगलबार जारी गरेको वक्तव्यमा आक्रमण भएको समय र स्थानबारे सर्वसाधारणलाई पहिल्यै जानकारी गराइएको उल्लेख गरेको छ। मिसन प्रमुख ड्यानियल बेलले मानवीय सहायता वितरण भइरहेको जानकारी रुसी सेनालाई भए पनि आक्रमण गरिएको वा आक्रमण गर्नुअघि आवश्यक सावधानी नअपनाइएको हुन सक्ने बताएकी छन्। उनले घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुनका आधारभूत सिद्धान्त उल्लङ्घन गरेको देखिने बताइन्।

यसैबीच, आक्रमणस्थलमा उद्धारकार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीसमेत मारिएका छन्। पहिलो आक्रमणपछि उद्धारका लागि घटनास्थल पुगेका दुई उद्धारकर्मीको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। युक्रेनी प्रहरीले आफ्ना चार अधिकारी पनि मारिएको जनाएको छ। उनीहरू भूमिगत आश्रयस्थलमा सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिरहेका थिए।

युक्रेनी प्रहरीका अनुसार पहिलो आक्रमणपछि उद्धार गर्न पुगेका र त्यहाँबाट बाहिर निस्कने प्रयास गरिरहेका मानिसहरू दोस्रो आक्रमणमा परेका थिए। स्थानीय प्रशासनका अनुसार रुसले आक्रमणमा केएबी–५०० र एफएबी–३००० प्रकारका बम प्रयोग गरेको थियो।

विद्यालय भवनमा आक्रमण भएको केही समयपछि रुसले युक्रेनका विभिन्न ऊर्जा पूर्वाधारलाई लक्षित गरी सयौँ ड्रोन तथा दर्जनौँ क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जेलेन्स्कीले बताएका छन्। आक्रमणपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको हवाई सुरक्षा प्रणाली बलियो बनाउन अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी अमेरिकासँग सहयोग मागेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट