Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता

सुर्खेत  : कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि इजरायलका राजदूत स्मुलीक अरिएल बासले दुई देशबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्धको स्मरण गरेका थिए ।

साथै, कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको छ ।इजरायलले कृषि क्षेत्रमा हासिल गरेको आधुनिक प्रविधिलाई कर्णालीको भौगोलिक परिवेश अनुकूल प्रयोगमा ल्याउने, ‘सिक्दै कमाउँदै’ कार्यक्रममार्फत कर्णालीका युवाहरूलाई थप अवसर प्रदान गर्ने र त्यहाँबाट फर्किएका जनशक्तिको सीपलाई प्रदेशको कृषि रूपान्तरणमा सदुपयोग गर्ने विषयमा सकारात्मक कुराकानी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सुरेन्द्रबहादुर शाहीले बताए ।

साथै, सरकारी प्रणालीमार्फत इजरायलमा ‘केयरगिभर’को वैदेशिक रोजगारीका अवसर, जनस्तरको सम्बन्ध विस्तार, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा प्रविधि आदानप्रदानका सम्भावनाबारे समेत विचारविमर्श गरिएको उनको भनाइ छ ।

भेटका क्रममा राजदूत बासले कर्णाली प्रदेशको कृषि, खानेपानी, प्रविधि हस्तान्तरण तथा क्षमता विकासका क्षेत्रमा इजरायल सरकार सहयोग र साझेदारी विस्तार गर्न सदैव सकारात्मक रहेको बताएका थिए ।

मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र सम्भावनालाई उजागर गर्न इजरायली अनुभव, दक्षता र प्रविधि निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij