Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

चन्द्रागिरिको नागढुंगा आसपास क्षेत्रमा चितुवा आतंक, सुरक्षित रहन प्रहरीको आग्रह

चन्द्रागिरिको नागढुंगा आसपास क्षेत्रमा चितुवा आतंक, सुरक्षित रहन प्रहरीको आग्रह

काठमाडौं : चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । केही दिनअघि पोथी चितुवाको मृत्यु भएपछि भाले चितुवा जंगलबाट बस्ती आसपासका क्षेत्रमा आउन थालेको प्रहरीको भनाइ छ । पछिल्लो समय नागढुंगा चोक आसपासमा समेत चितुवा बारम्बार देखिन थालेपछि प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक अजय जंग थापाले केही दिनअघि चन्द्रागिरि नगरपालिका–१ स्थित कालु पाण्डे समाधिस्थलमा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते भएको र उक्त घटनापछि चितुवा बस्ती आसपासमा देखिने क्रम बढ्न थालेपछि सावधानी अपनाउन अनुरोध गरेको हो ।

प्रहरी निरीक्षक थापाले बिहान सबेरै मर्निङ वाकमा ननिस्कन तथा साँझ ढिलोसम्म एक्लै हिँडडुल नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । अत्यावश्यक कामले बाहिर निस्कनुपर्ने अवस्था भएमा विशेष सतर्कता अपनाउन र सुरक्षित भएर आवतजावत गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

नागढुंगा चोक तथा आसपासका क्षेत्रमा चितुवा बारम्बार देखिन थालेको उल्लेख गर्दै प्रहरीले बालबालिका तथा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । जंगल तथा एकान्त क्षेत्र आसपास हिँडडुल गर्दा चनाखो रहन र सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

चितुवा बस्ती आसपासमा देखिन थालेपछि स्थानीयवासीलाई सचेत गराउँदै प्रहरीले सुरक्षित आवागमनमा ध्यान दिन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij