Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

नेतृत्वमा खटपट चलिरहेकै बेला प्रहरीका पाँच एआइजी र तीन डिआइजी विदा हुँदै

नेतृत्वमा खटपट चलिरहेकै बेला प्रहरीका पाँच एआइजी र तीन डिआइजी विदा हुँदै

नेपाल प्रहरीको उच्च नेतृत्वमा बढुवा, पदस्थापन र भावी नेतृत्वलाई लिएर आन्तरिक खटपटको चर्चा चलिरहेका बेला संगठनका आठ वरिष्ठ अधिकृत एकैपटक अनिवार्य अवकाशमा जाने भएका छन् । आगामी पुस ५ गते पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) र तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले ३० वर्षे सेवा अवधि पूरा गर्दै प्रहरी सेवाबाट बिदा लिन लागेका हुन् ।

२०५३ पुस ५ गते नेपाल प्रहरीमा प्रवेश गरेका अधिकारीहरूको सेवा अवधि पूरा हुन लागेसँगै संगठनको माथिल्लो तहमा ठूलो संख्यामा पद रिक्त हुने अवस्था आएको छ । एकैपटक वरिष्ठ अधिकारीहरू बाहिरिँदा प्रहरीको नेतृत्व संरचना, रिक्त पदमा हुने बढुवा र आगामी शक्ति सन्तुलनमा समेत प्रभाव पर्नेछ ।अनिवार्य अवकाशमा जाने पाँच एआइजीमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन् । शाह हाल प्रदेश समन्वय विभागमा कार्यरत छन् भने राठौर काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्वमा छन् । त्यस्तै, चतुर्वेदी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारीमा छन् । श्रेष्ठले कार्य विभाग र विकले प्रशासन विभागको नेतृत्व सम्हालिरहेका छन् ।

प्रहरीका यी वरिष्ठ अधिकारीहरूलाई सेवा अवधि पूरा भएपछि अवकाश हुने विषयमा यसअघि नै जानकारी गराइएको छ । नियमानुसार प्रहरी किताबखानाले अवकाश हुनुभन्दा एक महिनाअघि सम्बन्धित अधिकारीलाई औपचारिक पत्र उपलब्ध गराउने व्यवस्था छ । सोहीअनुसार उनीहरूले अबको केही दिनभित्र अवकाशसम्बन्धी पत्र प्राप्त गर्नेछन् ।नेपाल प्रहरीमा प्राविधिकतर्फको एक पदबाहेक एआईजीका आठ दरबन्दी छन् । तीमध्ये पाँच अधिकारी एकसाथ अवकाशमा गएपछि पुस ५ गतेदेखि तीन एआईजी मात्रै सेवामा रहनेछन् । यसले प्रहरीको माथिल्लो तहमा रिक्त पदको संख्या उल्लेख्य रूपमा बढ्नेछ । एआईजीसँगै तीन डीआईजी पनि अनिवार्य अवकाशमा जाँदै छन् । अवकाश हुने डीआईजीहरूमा ओम राना, दिलीपनाथ देउवा र सुरेन्द्र गुरुङ छन् । उनीहरू पनि २०५३ सालकै ब्याचका प्रहरी अधिकारी हुन् ।

वरिष्ठ अधिकारीको बिदाइसँगै बढुवा प्रतिस्पर्धा चर्किने

 एकैपटक आठ वरिष्ठ अधिकारी बाहिरिने भएपछि नेपाल प्रहरीमा अब रिक्त हुने पदमा कसले अवसर पाउने भन्ने विषय महत्त्वपूर्ण बन्ने देखिएको छ । विशेषगरी एआईजीका पाँच पद खाली हुँदा त्यसको असर डीआईजी तहको बढुवा प्रतिस्पर्धामा पर्नेछ ।प्रहरी संगठनभित्र वरिष्ठता, कार्यसम्पादन मूल्यांकन र नेतृत्वमा पुग्ने सम्भावनालाई लिएर प्रतिस्पर्धा हुने गरेको छ । यस्तो अवस्थामा ठूलो संख्यामा उच्च पद रिक्त हुँदा बढुवा प्रक्रिया थप चासोको विषय बन्नेछ । यता, २०५३ सालका अधिकारीहरू अवकाशको तयारीमा रहँदा २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेको समूह भने आगामी नेतृत्वको प्रतिस्पर्धामा केन्द्रित हुने अवस्थामा छ ।

 उक्त ब्याचका अधिकारीहरूको सेवा अवधि अझै करिब १७ महिना बाँकी छ । उनीहरू २०८४ चैतसम्म प्रहरी सेवामा रहनेछन् । पछिल्लो समय प्रहरीको उच्च तहमा देखिएको असमझदारी र नेतृत्वको प्रतिस्पर्धाको पृष्ठभूमिमा आगामी बढुवा तथा जिम्मेवारी बाँडफाँट नयाँ विवाद बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij