चितवन : चितवनमा प्रहरीले अहिलेसम्मकै ठूलो परिमाणमा ८० हजार ३ सय ७२ पिस पटाकाजन्य विस्फोटक पदार्थ बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।
तिहार नजिकिएसँगै अवैध पटका नियन्त्रण अभियानलाई तीव्र बनाएको प्रहरीले बरामद सामग्रीको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४ सय ६५ रुपैयाँ रहेको जनाएको छ।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल चितवनको कालिका नगरपालिका–६ हरिहरटोल बस्ने ४१ वर्षीय सन्जय साह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका छन्।
तिहार तथा अन्य चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले पटका नियन्त्रण अभियान सञ्चालन गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले होटल तथा रिसोर्टमा समेत पटका प्रयोग वा भण्डारण गरिएको पाइए प्रहरीलाई सूचना दिन आग्रह गरेका छन्। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने उनले बताएका छन्।
बरामद पटाकाजन्य विस्फोटक पदार्थबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, पटका पड्काउने, ओसारपसार गर्ने तथा अवैध रूपमा भण्डारण नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij