Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

निःशुल्क एआई तालिममा आवेदनको ओइरो, ६८ हजारभन्दा बढी युवाले पाए अवसर

निःशुल्क एआई तालिममा आवेदनको ओइरो, ६८ हजारभन्दा बढी युवाले पाए अवसर

काठमाडौँ :  दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘मास्टर्सिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयक अनलाइन तालिममा अपेक्षाभन्दा धेरै आवेदन परेको हो। आवेदक धेरै परेपनि अब सबै आवेदकलाई सहभागी गराइने भएको छ। 

तालिमका लागि पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका थिए।सुरुमा कात्तिक १८ र १९ गते चार वटा सत्रमा प्रतिसत्र ५०० जनाका दरले दुई हजारलाई तालिम दिने योजना थियो। तर, आवेदकको संख्या बढेपछि सबैलाई तालिममा सहभागी गराउने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ।
तालिममा सहभागी हुन आवेदन दिएका व्यक्तिलाई कक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत लिंक पठाइनेछ। आवेदन फाराममा उल्लेख गरेको नाम र मोबाइल नम्बरका आधारमा आफूले रोजेको सत्रमा सहभागी हुन सकिनेछ। सहभागीले मोबाइल फोन वा ल्यापटपबाट तालिम लिन सक्नेछन्।

तालिममा मुख्यतः च्याटजीपीटी, क्लाउडलगायत एआई उपकरणको प्रभावकारी प्रयोग, उपयोगी प्रम्प्ट लेखन, इमेल तथा कार्यालयका कागजात तयार गर्ने, प्रस्तुति निर्माण गर्ने, तस्बिर तथा छोटा भिडियो बनाउने र एआईबाट प्राप्त जानकारीको सत्यता जाँच गर्नेसम्बन्धी विषय समेटिनेछन्।

आधारभूत तहको यो तालिमले युवालाई एआई प्रविधिसँग परिचित गराउनुका साथै दैनिक जीवन, अध्ययन, रोजगारी तथा व्यावसायिक काममा यसको प्रयोग गर्न सक्षम बनाउने उद्देश्य राखेको छ।

प्रविधिको विकाससँगै बदलिँदो श्रम बजारका लागि युवालाई तयार पार्न एआई साक्षरता विस्तार गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। तालिम प्रत्यक्ष अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। सहभागीलाई तोकिएको समयमा उपस्थित भई कक्षामा सहभागी हुन आग्रह गरिएको छ।


राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट