चितवन : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई यहाँका सहकारी पीडितले आउँदो चुनावअघि आफ्ना सहकारीमा डुबेको रकम फिर्ता गरिदिन अनुरोध गरेका छन् ।उनीहरुले मजदुरी गरेर जम्मा गरेको रकम, घर जग्गा बेचेर, छोराछोरीको कमाइ समेत बटुलेर जम्मा गरेको रकम नहुँदा आफूहरु बिचल्लीमा परेको भन्दै आउँदो चुनावअघि रकम फिर्ता गराइदिन अनुरोध गरेका हुन् ।सनराइज बचत तथा ऋण सहकारी संस्थामा २०७१ सालदेखि ठेलामा व्यपार गरेको पैसा बचत गरेकी सुशीला कुमारी केसीले सहकारीले पैसा खाएको पाँच वर्ष बितिसक्दा पनि सरकारी निकायबाट उठाउन पहल नभएको दुखेको गरिन् ।
उनले १४ कठ्ठा चितवनको जमिन बेचेको रकम समेत सहकारीमा जम्मा गरेकी थिइन् । सहकारी सञ्चालकले रकम हिनामिना गरेर भागेपछि उठाइदिन राज्यका कुनै निकायले पनि सहयोग नगरेको उनको भनाइ छ । ‘जीवनभरी दुःख गरेको रकम गुम्दा आफ्नो घरसमेत भएन । अर्काको घरमा कोच्चिएर बस्नुपरेको छ’, उनले मन्त्री रावललाई सुनाइन्, ‘पैसा आउला आउला भनेर ५ वर्ष झुलाइसके । अहिले प्रहरीमा गएपनि रुँदै आउनुपरेको छ । महानगर गयौँ भने बाघझैँ झम्टिन्छन् ।’
जिल्ला प्रशासन कार्यालय चितवनले गराएको सहकारी पीडितसँगको अन्तरक्रियामा ८४ वर्षका कृष्ण शर्मा सापकोटाले पनि रुँदै आफ्नो दुःख सुनाएका थिए ।बुढेसकालमा आरामसँग बसूँला भनेर ४ कोठाको घर बेचेर शिवशिखर सहकारीमा रकम जम्मा गरेका उनले सुनाए । तर, सहकारी सञ्चालकले रकम हिनामिना गरेर अहिले सहकारी बन्द छ । शर्माले भने, ‘बृद्धाअवस्थामा आरामसँग बसुँला भनेर घर बेचेको पैसा, पेन्सन सबै गरेर शिव शिखर सहकारी संस्थामा राखेँ । मेरो एक्लै २ करोड ४० लाख र छोरा नातिनातीनाको सहित ३ करोड बढी रकम डुबेको छ । अहिले न सावाँ न ब्याज भइयो !’उनले आफ्नो मुटुको भल्व ब्याट्री राखेर चलाएको, श्रीमतीको पनि त्यस्तै अवस्था रहेको समेत बताए । बुढेसकालमा राम्रोसँग जीवन चलाउँला भनेर राखेको पैसा डुबेर बुढेसकालमा उपचार गर्ने रकम समेत नहुने अवस्था आएको मन्त्री रावललाई सुनाए ।
त्यसैगरी सहकारी पीडितहरुका सञ्जालको संयोजक समेत रहेका शालीग्राम दवाडीले आफू सहित साहारा सहकारी पीडितहरु त झनै दोहोरो समस्यामा रहेको दुखेसो गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको कारण साहारा सहकारी पीडितको अवस्थाको सुनुवाइ हुन समस्या परेको उनको गुनासो छ ।“साहारा सहकारीको बजारमा भएको रकम, गोर्खा मिडियामा गएको रकम, हामीले रोक्का गरेको ललितपुरसहित विभिन्न ठाउँमा रहेको जग्गा लगायतबाट रकम उठाउन सकिने अवस्था छ’, उप्रनले मन्त्री रावललाई सुनाउँदै भने, ‘तर माननीय रवि लामिछाने जोडिएको मुद्दा भएकाले कर्मचारीले संकटग्रस्त समेत घोषणा नगरिदिँदा रकम उठाउने निकाय नै भएन । हामीले दुःख पायौँ ।’
उनले प्रहरीले पनि अहिले सहकारी पीडितको उजुरी नलिएको दुखेसो समेत गरेका थिए । चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले सङ्घीय सरकारले सहकारी सम्बन्धि कानून बनाउँदै भएकोले अहिले उजुरी नलिन निर्देशन दिएको हुनाले उजुरी नलिएको बताए ।कार्यक्रममा उपस्थित भएका सहकारी पीडितहरुले आउँदो चुनावअघि नै सहकारी पीडितको पैसा फिर्ता गरिदिन अनुरोध गरेका थिए । उनीहरुमध्ये अधिकांशले सरकारले बाँडेको २५ हजार रुपैयाँ पनि नपाएको समेत गुनासो गरेका थिए ।
कार्यक्रममा सहकारी पीडितका कुरा सुनेपछि मन्त्री रावलले कानून बनाएर सहकारी पीडितको समस्या सरकारले समाधान गर्ने प्रतिवद्दता जनाइन् । उनले सहकारीमा पैसा बचत गर्नु नागरिकको गल्ती होइन भन्नेकुरा सरकार स्पष्ट भएको बताउँदै उनले भनिन्, ‘अदालतमा विचाराधीन मुद्दा छिटो टुङ्गो लागेपछि प्रकृया अगाडि बढाउन सक्ने भएकाले सर्वोच्च अदालतमा न्यायधीशलाई भेटेर सहकारी मुद्दा अगाडि बढाउन विशेष डेस्क बनाइदिन अनुरोध गरेका छौँ ।”हामी रकम फिर्ता हुने आश्वासन होइन जिम्मेवारी लिएर सङ्घीय सरकारले काम गर्नेगरि कानून तर्जुमा भइरहेको जानकारी गराइन् । रकम फिर्ता गर्न भने समन्वय गर्नुपर्ने भएकोले समय लाग्नसक्ने उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij