विश्व क्रिकेट मञ्चमा आँखा दौडाउने नेपाली क्रिकेट पारखीलाई यसपटक आफ्नै देशमा नयाँ रौनक हेर्ने अवसर आएको छ । भोलिदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ थप रौनकसहित सुरु हुँदै छ ।फ्रेन्चाइज लिगमा आईपीएल, बिग ब्यास, पीएसएल र सीपीएल चर्चामा छन् । सिजन–३ मा ग्लोबल स्टार क्रिकेटरको आगमन हुँदै छ, जसले एनपीएलमा रौनक थपेको हो । पहिलो सिजनमा भारतका शिखर धवन आएका थिए । दोस्रो सिजनमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस एनपीएलमा आए । तर, तेस्रो सिजनमा विश्वभरका क्रिकेटरको ओइरो एनपीएलमा लागेको छ ।
प्रतिस्पर्धाको हिसाबले यसपटक एनपीएलले नयाँपन पाउँदै छ । किनकि खेलाडीका रूपमा यसपटक अस्ट्रेलियाका विश्वप्रसिद्ध डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर, श्रीलंकाका एन्जेलो म्याथ्युज र पाकिस्तान टी–२० टोलीका कप्तान साहबजादा फरहान एनपीएलमा देखिँदैछन् । यीसहित अरू थुप्रै स्टार क्रिकेटरले यसपटक कीर्तिपुर क्रिकेट मैदानमा ब्याट घुमाउनेछन् । विदेशबाट आएका चर्चित क्रिकेटरमध्ये अलराउन्डर पनि उत्तिकै छन् ।विश्वस्टार खेलाडीबाहेक प्राविधिक पक्षले पनि एनपीएलमा यसैपटकदेखि नयाँ उचाइ थपेको छ । यसैपटकदेखि डीआरएस प्रविधि थपिएको छ । आईसीसीको मान्यताले पनि एनपीएललाई थप व्यवस्थित बनाउने पक्का छ ।
खेलाडीबाहेक विश्व क्रिकेटका चर्चित पूर्वस्टारहरू प्रशिक्षक र कमेन्टेटरका रूपमा पनि एनपीएलमा जोडिँदैछन् । यसले तेस्रो सिजनमै एनपीएल फ्रेन्चाइज लिगमा नयाँ स्वाद थपिने देखाएको छ । यिनै पक्षले एनपीएललाई तेस्रो संस्करणमा अन्तर्राष्ट्रिय पहिचान बनाउन थप सहयोग गर्नेछन् । चर्चित विदेशी खेलाडीको आगमनले विशेष अर्थ राख्नेछ ।
विश्वभरका क्रिकेटर जोडिँदै
टी–२० फरम्याटको यो प्रतियोगितामा यसपटक विश्वभरका क्रिकेटर जोडिँदैछन् । टेस्ट राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, भारत, वेस्ट इन्डिज, श्रीलंका र बंगलादेशका खेलाडी तथा प्रशिक्षक यो महामेलामा जोडिँदैछन् । टेस्ट राष्ट्रबाहेक एसोसिएट राष्ट्रका खेलाडी पनि एनपीएलमा खेल्दैछन् ।विश्वस्टार खेलाडीबाहेक प्राविधिक पक्षले पनि एनपीएलमा यसैपटकदेखि नयाँ उचाइ थपेको छ । यसैपटकदेखि डीआरएस प्रविधि थपिएको छ । आईसीसीको मान्यताले पनि एनपीएललाई थप व्यवस्थित बनाउने पक्का छ ।
खेलाडी, प्रशिक्षक र प्रविधिको प्रयोगले एनपीएललाई नवीन बनाउनेछ । त्योभन्दा बढी विश्व क्रिकेटका सबै पावरहाउस एनपीएलसँग जोडिएका छन् । एनपीएलमा विराटनगर किंग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।लगभग सबै टोलीमा विदेशी खेलाडी छन् । हरेक दिन एनपीएलका टोलीले विदेशी खेलाडी अनुबन्धको जानकारी दिइरहेका छन् । यी आठ टोलीमध्ये जनकपुर बोल्ट्सका हर्मित सिंह मात्रै विदेशी कप्तान हुन् । बाँकी सबै टोलीको कप्तानी नेपाली खेलाडीले नै गर्नेछन् । एनपीएल ९ कात्तिकदेखि मंसिरसम्म कीर्तिपुरमा चल्नेछ । विदेशी खेलाडीको अनुभव र दबदबाबीच आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती पनि थपिएको छ ।
विराटनगरका सन्दीप लामिछाने, चितवनका कुशल मल्ल, कर्णालीका सोमपाल कामी, काठमाडौंका करण केसी, लुम्बिनीका रोहित पौडेल, पोखराका कुशल भुर्तेल र सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् ।नेपाली खेलाडीले कप्तानी गर्दा यसपटक विश्वका स्टार क्रिकेटर यिनै टोलीमा हुनेछन् । टी–२० विश्वकप जितिसकेका तथा आईपीएल र बिग ब्यास लिग जितेका थुप्रै स्टार क्रिकेटरविरुद्ध खेल्न पाउनु र उनीहरूसँग एउटै टोलीमा रहन पाउनु नेपाली खेलाडीका लागि अवसर हुनेछ । अनुभवी खेलाडीसँगको खेलले नेपाली खेलाडीको बलिङ, ब्याटिङ र फिल्डिङमा थप सुधार आउने अपेक्षा छ ।काठमाडौं गोर्खाजको नेतृत्व गर्दा करण केसीसँग यसपटक बायाँहाते अस्ट्रेलियन ओपनिङ ब्याटर डेभिड वार्नर टोलीमा हुनेछन् । वार्नर एनपीएलकै सबैभन्दा ठूला नाममध्ये एक हुन् । वार्नर सुरुदेखि नै बलरमाथि हाबी हुने ब्याटर हुन् । उनी छोटो बललाई पुल गरेर अफसाइडमा छिटो रन बनाउन सक्ने खेलाडी हुन् ।
उनले आईपीएल टोली सनराइजर्स हैदराबादलाई सन् २०१६ मा उपाधि जिताउन कप्तानको भूमिका खेलेका थिए । उनी अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा सन् २०२१ मा टी–२० विश्वकप जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए । थोरै ओभरमा आक्रामक रन बनाउन सक्ने उनको खुबी यसपटक त्रिवि क्रिकेट मैदानमा देख्न पाइने आशामा क्रिकेट पारखी छन् । उनीबाहेक अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो पनि काठमाडौं गोर्खाजसँग हुनेछन् । भारतका केएस भरत र श्रीलंकाका सहान अराचिगे पनि यही टोलीमा छन् ।विराटनगरको कप्तानी सन्दीपले गर्दैगर्दा उनको टोलीमा पनि यसपटक विश्व क्रिकेटमा लामो अनुभव सँगालेका श्रीलंकाका एन्जेलो म्याथ्युज हुनेछन् । म्याथ्युज श्रीलंकाको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय खेलाडी हुन् ।
राष्ट्रिय टोलीमा रहेर उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । उनले टेस्ट क्रिकेटमा ११९ खेलमा आठ हजार २१४, एकदिवसीयमा २२६ खेलमा पाँच हजार ९१६ र ९० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ४१६ रन बनाएका छन् ।बलिङतर्फ उनले टेस्टमा ३३, एकदिवसीयमा १२६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ विकेट लिएका छन् । म्याथ्युजले इन्डियन प्रिमियर लिग (आईपीएल) र लंका प्रिमियर लिग (एलपीएल) पनि खेलिसकेका छन् ।पाकिस्तानको टी–२० टोलीका कप्तान साहबजादा फरहान यसपटक कर्णाली याक्सबाट एनपीएल खेल्दैछन् । सोमपाल कामीको कप्तानीमा फरहानले खेल्नेछन् ।
दायाँहाते ब्याटर उनले टी–२० अन्तर्राष्ट्रियमा दुई शतकसहित १३ वटा अर्धशतक प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले एक हजार ५५४ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८६ खेल खेल्दा पाँच हजार ७७५ रन बनाइसकेका छन् ।कर्णाली याक्सबाट खेल्न दक्षिण अफ्रिकाका डेभिड मिलर पनि आएका छन् । उनीसँग टी–२० अन्तर्राष्ट्रियमा १४० र भारतको आईपीएलमा १५२ खेल खेलेको अनुभव छ । देब्रेहाते मध्यक्रमका आक्रामक ब्याटरका रूपमा मिलर चर्चित छन् । ३७ वर्षीय उनी पहिलोपटक एनपीएल खेल्न आएका हुन् । हुसेन तलत पनि यो टोलीमा जोडिएका छन् ।
वेस्ट इन्डिजका दायाँहाते ब्याटर एवं अलराउन्डर आन्द्रे रसेल पनि यसपटक एनपीएलका चर्चित अनुहार हुन् । उनले आईपीएलदेखि विश्वका प्रमुख फ्रेन्चाइज लिग खेलिसकेका छन् । रसेलको आगमनले विराटनगरको अलराउन्ड प्रदर्शनमा प्रभाव पार्न सक्नेछ । यो टोलीमा एन्जेलो म्याथ्युज, चरिथ असलंक, शुभम रञ्जने र शेहान जयसूर्या पनि जोडिएका छन् ।पोखरा एभेन्जर्समा बंगलादेशी अलराउन्डर सकिब अल हसन र मेहदी हसन जोडिएका छन् । त्यस्तै, मोहम्मद सैफुद्दिन र चमिका करुणारत्ने पनि यो टोलीमा छन् ।
शाकिब ब्याटिङ र बलिङ दुवैबाट खेललाई बदल्न सक्ने खेलाडीका रूपमा चर्चित छन् । मध्यक्रममा ब्याटिङ गर्ने र स्पिन बलिङमार्फत विपक्षीको रन रोक्ने तथा विकेट लिने खुबीका कारण उनी प्रभावकारी हुने गर्छन् । टेस्ट, एकदिवसीय र टी–२० तीनवटै फरम्याटमा शाकिब एकैपटक पहिलो नम्बरमा पुगेका खेलाडी हुन् ।लगातार दुईपटक फाइनल खेलेर अभागी बनेको सुदूरपश्चिमसँग शेरफेन रदरफोर्ड जोडिएका छन् । उनी देब्रेहाते मध्यक्रमका विस्फोटक ब्याटर हुन् । उनले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदराबादबाट क्रिकेट खेलिसकेका छन् । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन पनि सुदूरपश्चिममा अनुबन्ध भएका छन् ।
यी मात्रै होइनन्, इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निशम जनकपुर बोल्ट्सका खेलाडी हुन् । जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा र इंग्ल्यान्डका रवि बोपारा चितवन राइनोजबाट खेल्दैछन् ।
पहिलोपटक डीआरएस
अघिल्ला दुई सिजनमा प्रयोगमा नआएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) यसैपटकदेखि एनपीएलमा भित्रिएको छ । क्रिकेटमा लागतका हिसाबले निकै महँगो मानिने यो प्रविधि भित्र्याएर एनपीएलले आफूलाई फरक देखाएको छ ।निर्णय पुनरावलोकन गर्न सकिने यो प्रविधिमा क्यामेरा र कम्प्युटरको विश्लेषणबाट बलको गति र दिशा पत्ता लगाइन्छ । यसले एलबीडब्ल्यू, क्याच आउट र अल्ट्राएजसहितका पक्षलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै सही नतिजा निकाल्न महत्त्वपूर्ण सहयोग गर्छ ।अत्यधिक महँगो भएकै कारण अघिल्ला दुई सिजनमा यो प्रविधि एनपीएलमा भित्रिएको थिएन । तर, यसपटक एनपीएलले फ्रेन्चाइज लिगमा आफू कमजोर नरहेको सन्देश दिएको छ ।
आईसीसीबाट मान्यता
यसअघिका दुई सिजनलाई क्रिकेटको सर्वोच्च संस्था आईसीसीले मान्यता दिएको थिएन । तर, यसपटकदेखि एनपीएलका खेल र खेलाडीको तथ्यांक टी–२० अन्तर्राष्ट्रिय मान्यताभित्र पर्ने भएका छन् । एनपीएलले आईसीसीबाट मान्यता पाएपछि नेपाली क्रिकेट थप व्यावसायिक हुने र अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्ने बाटोमा अघि बढ्नेछ ।
पहिलोपटक फ्लडलाइटमा एनपीएल
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यसपटकदेखि फ्लडलाइटमा एनपीएलका खेल हुनेछन् । ३२ मध्ये २० खेल फ्लडलाइटमा खेलाइनेछन् । यो एनपीएल र नेपाली क्रिकेटमा नयाँ प्रयोगसमेत हुनेछ ।
विश्वचर्चित शोएब अख्तर पनि जोडिँदै
एनपीएल सिजन–३ सँग चर्चित पाकिस्तानी क्रिकेटर शोएब अख्तर पनि जोडिँदैछन् । उनी खेलाडी वा प्रशिक्षकका रूपमा नभई लाइभ कार्यक्रममा विश्लेषकका रूपमा जोडिन लागेका हुन् । रेडबुल क्रिकेट लाइभ कार्यक्रममार्फत उनी हिमालयन स्पोर्ट्समा एनपीएलका क्रममा देखिनेछन् ।
खेलाडीबाहेक पनि चर्चित पूर्वखेलाडीले थप्दैछन् रौनक
खेलाडी मात्रै होइन, पूर्वखेलाडीहरू पनि एनपीएलसँग जोडिएका छन् । सुदूरपश्चिमका मुख्य प्रशिक्षकका रूपमा मिसबाह उल हक आएका छन् । पोखराका मुख्य प्रशिक्षक अजन्था मेन्डिस हुन्, जो श्रीलंकाका पूर्वस्टार स्पिनर हुन् ।काठमाडौं गोर्खाजको प्रशिक्षकका रूपमा नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाई जोडिएका छन् । चितवन राइनोजमा सोहेल तनवीर, पोखरामा अजन्था मेन्डिस, कर्णाली याक्समा ज्ञानेन्द्र मल्ल र सुदूरपश्चिममा मिसबाह उल हक छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij