Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात, बङ्गलादेशतर्फको आपूर्ति पुनः सञ्चालन

असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात, बङ्गलादेशतर्फको आपूर्ति पुनः सञ्चालन

काठमाडौं : प्राकृतिक विपत्ति र बाढीपहिरोले प्रमुख जलविद्युत आयोजनाहरूमा क्षति पु¥याए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको छ । यससँगै बाढीका कारण अवरुद्ध बनेको बङ्गलादेशतर्फको ४० मेगावाट विद्युत् आपूर्तिसमेत वैकल्पिक आयोजनाहरूमार्फत पुनः नियमित भएको छ । नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्यांकअनुसार असोज महिनामा मात्रै भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत् पठाइएको छ । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६ करोड २० लाख रुपैयाँले बढी हो । गत वर्ष असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको बिजुली विक्री भएको थियो भने चालु आर्थिक वर्षको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ आम्दानी भएको थियो। यस वृद्धिसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा कुल विद्युत् निर्यात १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ पुगेको छ । 

प्राधिकरणकाअनुसार असोजमा भारततर्फको निर्यात मुख्यतः दुई संयन्त्रमार्फत गरिएको छ । जसमा हरियाणा र बिहार राज्यसँग गरिएको द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे–अहेड तथा रियल टाइम बजार रहेका छन् । कुल निर्यातको करिब दुई तिहाइ परिमाण द्विपक्षीय सम्झौताअनुसार र बाँकी एक तिहाइ हिस्सा आइएक्सको खुला प्रतिष्पर्धी बजारमार्फत बिक्री गरिएको हो । अर्कोतर्फ, भदौ १० गतेको बाढीपहिरोले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पु¥याएपछि बङ्गलादेश र भारतको हरियाणातर्फको नियमित निर्यात प्रभावित भएको थियो । तर भारतको केन्द्रिय विद्युत् प्राधिकरण (सीईए) ले अन्य वैकल्पिक आयोजनाबाट विद्युत् पठाउने अनुमति दिएपछि गत कात्तिक ६ गतेदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् प्रवाह पुनः सुचारु भएको छ ।

अब त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा हरियाणातर्फ पठाइनेछ। नेपाल र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको सम्झौताअनुसार प्रत्येक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई विद्युत् उपलब्ध गराउने व्यवस्था छ । यसैबीच, भारतबाट थप ३१ मेगावाट विद्युत् निर्यातको नयाँ स्वीकृति पाएसँगै नेपालबाट भारततर्फ निर्यात गर्न पाउने कुल स्वीकृत क्षमता १ हजार १७९ मेगावाट पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट