राजेन्द्र आचार्य,
चितवन : दसैँको बिदा र मुख्य पर्यटकीय सिजन सुरु भएसँगै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढे पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन सकेको छैन। बाढीपहिरो र सडक यातायातमा देखिएको अवरोधका कारण यसपटक दसैँमा समेत सौराहासहित चितवनका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप कम देखिएको हो।
मुलुकको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन अपेक्षाकृत कम हुँदा पर्यटन व्यवसायी उत्साहित हुन सकेका छैनन्। भोटेकोसी र बूढीगण्डकी क्षेत्रमा आएको बाढी तथा मुग्लिन–नौबिसे सडकखण्डमा देखिएको पहिरोका कारण यातायात प्रभावित हुँदा पर्यटकको आवागमनमा असर परेको व्यवसायीहरूको भनाइ छ।
युवा पर्यटन व्यवसायी तथा होटल जंगल भिस्टाका सञ्चालक रमेश सिलवालले दसैँसँगै पर्यटकको चाप बढ्ने अपेक्षा गरिए पनि सोचेअनुसार आगमन हुन नसकेको बताए। पर्यटकीय सिजन सुरु भएसँगै होटल बुकिङ भने बढ्न थालेको उनले जानकारी दिए। पर्यटकलाई थप सुविधा दिने उद्देश्यले होटलमा नयाँ स्विमिङ पुलसमेत निर्माण गरिएको उनले बताए।
त्यस्तै, केटिएम हस्पिटालिटी ग्रुपअन्तर्गतको होटल रोयल टुलिपका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामेश्वर शाहले बाढीपहिरो र सडक यातायातको समस्याले यसपटकको पर्यटकीय सिजनप्रति चिन्ता बढाएको बताए। चितवनमा लक्जरी रिसोर्टका रूपमा सञ्चालनमा रहेको रोयल टुलिपले पर्यटकलाई स्तरीय सेवा उपलब्ध गराउने प्रयास गरिरहेको उनले जानकारी दिए।
सौराहाका पर्यटन व्यवसायी तथा होटल जंगल क्राउनका सञ्चालक सन्तोष गिरीले पनि प्राकृतिक प्रकोपका कारण पर्यटकको आगमन प्रभावित भएको बताए। उनका अनुसार विगतको तुलनामा आन्तरिक तथा विदेशी पर्यटकको आगमनमा अपेक्षित वृद्धि हुन सकेको छैन।
यद्यपि, सौराहाका होटल तथा रेस्टुरेन्टमा ग्राहकको उपस्थिति बढ्न थालेको छ। साँझपख राप्ती नदी किनारको ड्यामसाइट क्षेत्रमा पर्यटकको चहलपहल देखिने गरेको व्यवसायीहरू बताउँछन्। तर, घुम्न आउने पर्यटकको तुलनामा होटलमा रात बिताउने पर्यटकको संख्या कम हुँदा व्यवसायीले अपेक्षित लाभ लिन सकेका छैनन्।
सौराहासँगै पटिहानी, जगतपुर, मेघौली र गोलाघाटलगायत चितवनका अन्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकको आवागमन र होटलमा बस्नेको संख्यामा अपेक्षित वृद्धि हुन सकेको छैन। दसैँको लामो बिदा भए पनि पर्यटकको आगमन सोचेजस्तो नहुँदा पर्यटन व्यवसायी निराश बनेका छन्।
वन्यजन्तु, जैविक विविधता र प्राकृतिक सौन्दर्यका लागि परिचित चितवनमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन्। दसैँको बिदा र पर्यटकीय सिजनमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिए पनि सडक यातायातको असहजताले पर्यटन क्षेत्रको उत्साहमा कमी ल्याएको क्षेत्रीय होटल संघ चितवन–सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए।
पर्यटन व्यवसायीका अनुसार सडक यातायात सहज नहुँदासम्म चितवनमा पर्यटकको आवागमनले अपेक्षित गति लिन कठिन हुनेछ। सडक अवरोध हटाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सके पर्यटकीय सिजनको लाभ लिन र सुस्ताएको पर्यटन व्यवसायलाई गति दिन सकिने उनीहरूको अपेक्षा छ।
सौराहा र आसपासका क्षेत्रमा साना तथा ठूला गरी करिब १५० होटल र ६० भन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा रहेको बताइएको छ। चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, राप्ती नदीमा डुङ्गा सयर, वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन यहाँका प्रमुख पर्यटकीय आकर्षण हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij