Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

दसैँमा चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा दैनिक १५० बिरामी, खानपानमा सावधानी अपनाउन चिकित्सकको सुझाव

दसैँमा चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा दैनिक १५० बिरामी, खानपानमा सावधानी अपनाउन चिकित्सकको सुझाव

चितवन : दसैँको बिदामा पनि विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षबाट दैनिक करिब १५० जनाले सेवा लिइरहेका छन् । अस्पतालका अनुसार आकस्मिक उपचारका लागि आउने बिरामीमा सवारी दुर्घटनामा परेका, हृदयघात, पक्षघात (स्ट्रोक) तथा खानपानसँग सम्बन्धित समस्या भएका व्यक्तिको सङ्ख्या तुलनात्मक रूपमा बढी छ ।

सिएमसीका कलेजो विभागका प्राध्यापक डा. दयाराम लम्सालले आफ्नो करिब तीन दशकको आकस्मिक उपचार सेवाको अनुभव सुनाउँदै चाडपर्वमा खानपान र जीवनशैलीमा सावधानी नअपनाउँदा धेरै मानिस अस्पताल पुग्नुपर्ने अवस्था आउने गरेको बताउनुभयो ।

बडादसैँका समयमा सवारी दुर्घटनाका घाइते, मुटुरोगी, पक्षघात भएका, विषाक्त खाना सेवन गरेका तथा घाँटीमा हड्डी अड्किएका बिरामी अस्पताल आउने गरेको उहाँले बताउनुभयो । खाना पकाउँदा जलेका, जङ्गली च्याउ खाएर बिरामी परेका, घरको छतबाट लडेका, करेन्ट लागेका तथा दीर्घरोगको नियमित औषधि सेवन छुटाएका व्यक्तिमा पनि स्वास्थ्य समस्या देखिने गरेको उहाँको भनाइ छ ।

चाडपर्वमा मादक पदार्थको अत्यधिक सेवन दुर्घटना र झैझगडाको प्रमुख कारणमध्ये एक रहेको डा. लम्सालले बताउनुभयो । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनामा पर्ने र आपसी झैझगडामा घाइते भएर अस्पताल आउने बिरामीसमेत उल्लेख्य हुने उहाँले जानकारी दिनुभयो । ट्राफिक कारबाहीबाट बच्न मात्र नभई आफ्नै सुरक्षाका लागि पनि मादक पदार्थ सेवन गरेर सवारी नचलाउन उहाँले आग्रह गर्नुभयो ।

चाडपर्वमा खानपान र रमाइलोमा व्यस्त हुँदा दीर्घरोगीले नियमित औषधि छुटाउने समस्या पनि देखिने गरेको छ । अत्यधिक चिल्लो पदार्थ, मासुजन्य परिकार, धूमपान र मादक पदार्थको सेवन तथा पर्याप्त निद्रा नपुग्दा हृदयघात र पक्षघातको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

हृदयघात र पक्षघात भएका बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सके उपचारबाट बचाउने सम्भावना बढ्ने डा. लम्सालले बताउनुभयो । उहाँका अनुसार हृदयघात भएको एक घण्टाभित्र र पक्षघात भएको तीन घण्टाभित्र अस्पताल पुर्‍याउन सके बिरामीलाई बचाउने सम्भावना धेरै हुन्छ ।

चाडपर्वमा पनि आकस्मिक उपचारलाई प्रभावकारी बनाउन सिएमसीले मुटु, न्युरो र रेडियोलोजीसम्बन्धी विशेषज्ञ टोली तयारी अवस्थामा राखेको जनाएको छ ।

आकस्मिक उपचारमा कार्यरत डा. रविन बमले पक्षघातका सङ्केत देखिए तत्काल अस्पताल आउन आग्रह गर्नुभयो । शरीरको कुनै भाग नचल्ने, जिब्रो लाटो हुने, मुख बाङ्गिने वा हातखुट्टा चलाउन नसक्ने लक्षण देखिए चाडपर्व वा बिदाको कारण उपचारमा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।

त्यस्तै, छाती दुख्ने, छाती भारी हुने वा सास फेर्न गाह्रो हुने समस्या देखिए तत्काल अस्पताल जान चिकित्सकले सुझाव दिएका छन् । चाडपर्वमा धेरै चिल्लो र मासुजन्य परिकार खाएको भन्दै शरीरले धान्न नसक्ने गरी कडा व्यायाम नगर्न पनि उनीहरूले आग्रह गरेका छन् ।

चिकित्सकहरूले दसैँको रमाइलोसँगै खानपान, नियमित औषधि सेवन, पर्याप्त निद्रा र सुरक्षित यात्रामा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट