Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

महाअष्टमीमा उग्रतारा मन्दिरमा पूजाआजा र बलि दिने भक्तजनको भीड

महाअष्टमीमा उग्रतारा मन्दिरमा पूजाआजा र बलि दिने भक्तजनको भीड

डडेल्धुरा : महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ।डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ।उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासँगै राँगा र बोकाको बलि दिई पूजाआजा गरिन्छ। दसैँका दिन पनि यहाँ भव्य पूजाआजा हुने गर्दछ। मेलामा सुदूरपश्चिमका नौवटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेको उनले बताएका छन्।

यो मन्दिरलाई सुदूरपश्चिमका नौ भगवतीका मन्दिरहरूमध्ये एक मानिन्छ। किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्षपहिले हालको अमरगढी नगरपालिका–८ लटाउली गाउँ बस्ने साँकी जातिका स्थानीयले बारीमा हलो जोत्दा फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको थियो।त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ। तिनै लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डित अहिले पनि पुजारी रहेका छन्। उग्रतारा मन्दिर विशाल फाँटमा छ। डाँडामाथि मन्दिर अवस्थित रहेकाले मन्दिरसम्म पुग्न ओरालो झर्नु पर्दैन। यसकारण पनि मन्दिरको गरिमा बढेको अध्यक्ष साँकीले जानकारी दिएका छन्।उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन महापूजा तथा ठुलो मेला लाग्ने गर्दछ। कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध देइजात मेलामा प्राचीनकालमा गर्खाहरूबाट आएका लडाकुबिच वीरताका साथ लडाइँ हुँदा रगतको खोला बगेको र जसलाई यहाँ न्वाखोलाका रूपमा नामाकरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij