म्याग्दी : म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकमा सुक्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन बन्द गराएको छ ।बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा आजदेखि सुक्खा पहिरो खस्न थालेपछि जोखिम भएकाले बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पहिरो खस्न रोकिएपछि सडक मर्मत गरेर यातायात सञ्चालन गरिने बताए । बेनी–दरबाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ ।
सडक बन्द हुँदा दसैँ मनाउन जन्मथलो जानेहरूलाई समस्या भएको छ । फापरखेतमा विस २०५८ मा सडकको मार्ग खोल्नुअघिदेखिकै पहिरो रोकथामको प्रयास भए पनि सफल हुन सकेको छैन । शनिबार यसअघि खस्नेभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो खस्न थालेकाले आवतजावत गर्न जोखिम देखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij