चितवन : चिकित्सक शिक्षा आयोगले चितवन मेडिकल कलेज (सिएमसी) ले पढाउँदै आएका चिकित्सा शिक्षाका विभिन्न विधामा सिट संख्या थप गरेको छ । संख्या थपसँगै चितवन मेडिकल कलेज (सिएमसी) ले ३९८ सिट पाएको हो ।
आयोगका अनुसार सिएमसीले एमबिबिएसमा १३०, बिडिएसमा ४५, बिएस्सी नर्सिङमा ६०, बिएस्सी एमआईटीमा १०, बिपिएचमा ४०, बिएस्सी एमएलटीमा २०, बि फर्मामा ४०, बिएस्सी मिडवाईफरीमा २० र बिएनएसमा २० सिट पुगेको छ ।
कलेजका उपनिर्देशक डा. अरुण कोइरालाका अनुसार बिएस्सी मिडवाईफरीमा १०, बिएस्सी एमआईटीमा ४, बिएनएसको २० सिट थप भएर आएको हो । बन्द गरिएको बिएनएस कार्यक्रम चितवनमा नर्सिङ अभाव भएसँगै पुनः शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “नर्सिङ अभाव भएपछि हामीले बिएनएस कार्यक्रम पुनः शुरु गरेका छौं । यसमा २० सिट पढाई हुन्छ ।”
सिएमसी कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले शैक्षिक गुणस्तरका पक्षमा कुनै पनि सम्झौता नगरी अघि बढेकाले कलेजको सिट संख्या बढ्दै गएको बताउनुभयो । उहाँले देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरमा अवस्थित सुविधासम्पन्न सिएमसी शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको, प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिएका, अनुभवी एवम् क्षमतावान् शिक्षक तथा कर्मचारीको व्यवस्था गरिएको र पठनपाठनसहित अनुशासनलाई प्राथमिकता दिएकाले पछिल्ला वर्षहरूमा अब्बल विद्यार्थीको रोजाइमा सिमसी कलेज परेको बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij