Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कांग्रेसको नयाँ केन्द्रीय समितिमा ३० चिकित्सक र १५ इन्जिनियर

कांग्रेसको नयाँ केन्द्रीय समितिमा ३० चिकित्सक र १५ इन्जिनियर

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिमा ३० जना चिकित्सक र १५ जना इन्जिनियर समेटिएका छन्। नयाँ कार्यसमितिमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म चिकित्सक, इन्जिनियर र प्राज्ञिक क्षेत्रका व्यक्तिहरू निर्वाचित भएका हुन्।

पदाधिकारीतर्फ उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) र मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्।

खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा प्रा.डा. गोविन्दराज पोखरेल, डा. शोभाकर पराजुली, डा. सुरज राज काफ्ले, डा. कृष्णप्रसाद पौडेल र डा. मुक्तिराम श्रेष्ठ निर्वाचित भएका छन्। इन्जिनियरतर्फ मोहन आचार्य, अमृत ज्ञवाली, नवराज त्रिपाठी, ऋषि कोइराला र दीपकबाबु कँडेल केन्द्रीय सदस्य बनेका छन्।


समावेशी समूहबाट पनि चिकित्सक तथा इन्जिनियरहरू केन्द्रीय समितिमा पुगेका छन्। आदिवासी जनजातितर्फ इन्जिनियर अनुप श्रेष्ठ तथा डा. प्रेमध्वज लामा र डा. गंगा लक्ष्मी अवाल निर्वाचित भएका छन्। दलित खुलातर्फ डा. डीबी सुनार केन्द्रीय सदस्य बनेका छन्।

मधेशबाट डा. गरिव दास ठाकुर, डा. मधुकुमारी ठाकुर र डा. अञ्जनीकुमार झा निर्वाचित भएका छन्। खसआर्यतर्फ इन्जिनियर लक्ष्मण केसी र डा. भद्रा पराजुली भण्डारी केन्द्रीय सदस्य बनेका छन्।

त्यस्तै, थारु समुदायबाट डा. भोगेन्द्रप्रसाद चौधरी, डा. जीवन राना र डा. प्रमिला कुमारी गच्छदार तथा मुस्लिम समुदायबाट डा. अताबुल मन्सुरी निर्वाचित भएका छन्।

प्रदेशगत र युवा समूहमा पनि चिकित्सक तथा इन्जिनियरको प्रतिनिधित्व छ। कोशी प्रदेशबाट ३५ वर्षमुनिका युवातर्फ डा. योशिका भट्टराई र इन्जिनियर हेमकाजी बस्नेत निर्वाचित भएका छन्। बागमतीबाट प्रा.डा. सूर्यकान्त घिमिरे र इन्जिनियर रोहित पौडेल केन्द्रीय सदस्य बनेका छन्।

गण्डकी प्रदेशबाट युवा महिला समूहमा डा. कला पन्त र खुला युवा समूहमा इन्जिनियर सुवास पौडेल निर्वाचित भएका छन्। सुदूरपश्चिमबाट युवा खुलातर्फ इन्जिनियर भुवनराज भट्ट केन्द्रीय सदस्य बनेका छन्।

सातै प्रदेशबाट निर्वाचित हुने ३५ वर्षमुनिका खुला युवा केन्द्रीय सदस्यमा इन्जिनियर अभिषेक आत्रेय, डा. आयुस बगाले, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र पनि छन्।

नेपाली जनसम्पर्क समितितर्फ डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पेशागत तथा विषयगत क्षेत्रबाट डा. केदार नरसिंह केसी, प्रा.डा. जगदीशचन्द्र पोखरेल र डा. प्रदीप मिश्र केन्द्रीय समितिमा पुगेका छन्।

पेशागत तथा विषयगत क्षेत्रको महिला सदस्यमा डा. सीता पोखरेल (घिमिरे) र डा. बाला अधिकारी निर्वाचित भएका छन्। काठमाडौं उपत्यकाबाट महिला केन्द्रीय सदस्यमा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन्।

कांग्रेसको विशेष महाधिवेशनपछि विधान संशोधन गर्दै पेशागत क्षेत्रका व्यक्ति तथा विषयविज्ञलाई केन्द्रीय संरचनामा समेट्ने व्यवस्था गरिएको थियो। नयाँ कार्यसमितिमा चिकित्सक, इन्जिनियर र प्राज्ञिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिले स्वास्थ्य, पूर्वाधार, शिक्षा, विज्ञान तथा प्रविधिसम्बन्धी विषयमा उनीहरूको अनुभव उपयोग गर्ने अवसर दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij