नयाँ कार्यसमिति चयन भएसँगै तमू संघ–संस्थाबीच आपसी परिचय, सहकार्य र सम्बन्ध विस्तार गर्ने उद्देश्यले बिहीबार भरतपुरस्थित तीनखोले गुम्बामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा असोज २ र ३ गते कास्कीको सिक्लेसमा सम्पन्न तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रीय महाधिवेशनबाट निर्वाचित अध्यक्ष चित्र साेल्टी गुरुङ र सचिव दानबहादुर गुरुङलाई बधाई तथा सम्मान गरिएको थियो।
त्यसैगरी, तमु ह्युल छोंज धींका केन्द्रीय निवर्तमान सचिव तथा समाजसेवी सन्तलाल गुरुङलाई तमू समुदायको संरक्षण, हकहित र सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले कुनै पनि समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले लोप हुँदै गएका तथा पुराना संस्कार–संस्कृतिको खोज, अनुसन्धान र संरक्षणमा केन्द्रित समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक तुलाराम गुरुङले पत्रकारमा निडरता र इमानदारी आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार सत्यतथ्यमा आधारित पत्रकारिता र जिम्मेवारीप्रतिको प्रतिबद्धताले सञ्चारकर्मीलाई सक्षम र सफल बनाउँछ।
तमू सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष चित्र साेल्टी गुरुङले समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणमा सञ्चारकर्मीले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष बुद्धिमान गुरुङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङ, तमु विद्यार्थी छोंज धींका रुकसन गुरुङ तथा तमु ह्युल छोंज धीं महिला समिति चितवनकी अध्यक्ष सीतादेवी गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
संघकी उपाध्यक्ष गीता गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव करिष्मा गुरुङले सहजीकरण गर्नुभएको थियो। जिल्ला अध्यक्ष हिरालाल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमू समुदायका विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुकाे सहभागिता रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij