Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय हल र वुडफोर्डलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय हल र वुडफोर्डलाई

काठमाडाैँ : सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका दुई प्राध्यापक रोबर्ट ई.हल र माइकल वुडफोर्डले प्राप्त गरेका छन् । सोमबार रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले जनाएअनुसार, ‘समष्टिगत आर्थिक स्थिरीकरणको व्यष्टिगत आर्थिक आधार’ विषयमा उनीहरूले गरेको अनुसन्धान र योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको हो ।यस प्रतिष्ठित पुरस्कारको औपचारिक नाम ‘अल्फ्रेड नोबेलको स्मृतिमा दिइने स्वेरिजेस रिक्सबैंक पुरस्कार’ हो । यो वर्ष घोषणा भएका नोबेल पुरस्कारहरूमध्ये यो अन्तिम विधा हो । विजेताले पुरस्कारस्वरूप १ करोड २० लाख स्विडिस क्रोनर (लगभग १२ लाख अमेरिकी डलर) प्राप्त गर्नेछन् ।

डायनामाइटका आविष्कारक एवं उद्योगपति अल्फ्रेड नोबेलले सन् १८९५ मा तयार पारेको इच्छापत्र (विल) मा तोकिएका मुख्य पाँच विधामा अर्थशास्त्र समावेश थिएन । पछि स्वीडेनको केन्द्रीय बैंकले यस विधाको स्थापना गरेपछि सन् १९६९ बाट मात्र यो पुरस्कार वितरण गर्न थालिएको हो ।अर्थशास्त्रतर्फका धेरैजसो नोबेल विजेताहरू अमेरिकी नागरिक नै रहेका छन् । अहिलेसम्म तीनजना महिलाले मात्र यो सम्मान पाएका छन् । पछिल्लोपटक सन् २०२३ मा समयको अन्तरालसँगै रोजगारी र तलबमा पर्ने लैङ्गिक प्रभावबारे अनुसन्धान गरेबापत क्लाउडिया गोल्डिनलाई यो पुरस्कार प्रदान गरिएको थियो ।

अघिल्लो वर्ष भने यो पुरस्कार जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई संयुक्त रूपमा दिइएको थियो । उनीहरूले ‘क्रिएटिभ डिस्ट्रक्सन’ (रचनात्मक विनाश) सँगै नयाँ प्रविधि र उत्पादनका तरिकाले आर्थिक विकास र मानिसको जीवनस्तर उकास्न खेल्ने भूमिकाबारे महत्त्वपूर्ण अध्ययन गरेका थिए ।यस वर्षका अन्य विधाहरू जस्तैः चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फका नोबेल विजेताहरूको घोषणा भने गत साता नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट