Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण

बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण

काठमाडौं : बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट बरामद गरिएको २१ किलो ७५० ग्रामभन्दा बढी सुन प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, म्याद लिएर अनुसन्धान गर्न बरामद सुन भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको हो।प्रहरीले गत असोज २२ गते माथिल्लो भंगालस्थित एक घरबाट २१ किलो ७५०।६८ ग्राम सुन बरामद गरेको थियो। बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको जनाइएको छ।

प्रहरीले घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको थियो। उक्त घर भाडामा लिएर सुनको कारखाना सञ्चालन गरिएको आरोपमा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन छन्।प्रहरीको प्रारम्भिक आशंकाअनुसार बरामद सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्छ। तर, सुन कहाँबाट ल्याइएको थियो र कहाँ लैजाने योजना थियो भन्ने विषय खुल्न बाँकी छ।सुनसहित पक्राउ परेका तीनै जनामाथि भन्सार कार्यालयले म्याद लिएर अनुसन्धान गरिरहेको छ। सुनको स्रोत, नेपाल भित्र्याइएको मार्ग र सम्भावित गन्तव्यबारे प्रहरीले समेत थप अनुसन्धान अघि बढाएको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij