Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

गैँडाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

गैँडाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

नवलपुर : नवलपुरको गैँडाकोटमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। सोमबार बिहान करिब ८ः३० बजे गैँडाकोट नगरपालिका–५, कुसुमपाटस्थित भित्री सडकखण्डमा गैँडाकोट इङ्लिस स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २६ वर्षीय राजु बापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार कालिकाचोकबाट श्रीराम प्यालेसतर्फ जाँदै गरेको ग १ ख ३९७० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ४५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा गैँडाकोट नगरपालिका–६ निवासी बापा गम्भीर घाइते भएका थिए।

टाउकोमा चोट लागेका उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा बिहान ९ः३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र बस चालक गैँडाकोट नगरपालिका–१, धारापानी निवासी ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट