Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

छिमेकी जिल्लाका नागरिकदेखि दुर्घटनाका घाइतेसम्मको जीवनरक्षामा इच्छाकामना आधारभूत अस्पताल

छिमेकी जिल्लाका नागरिकदेखि दुर्घटनाका घाइतेसम्मको जीवनरक्षामा इच्छाकामना आधारभूत अस्पताल

हीरालाल गुरुङ

इच्छाकामना, २५ असोज। चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले एक समारोहबीच नवनिर्मित १५ शय्याको अस्पताल भवनको उद्घाटन गर्नुभएको हो।

पृथ्वी राजमार्गसँगै जोडिएको यस अस्पतालले चितवनको इच्छाकामना गाउँपालिकासहित धादिङको बेनीघाट रोराङ, गोरखाको सहिद लखन र गण्डकी गाउँपालिकाका नागरिकलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल उपचार सेवा उपलब्ध गराउँदै आएको यस अस्पतालको भौगोलिक अवस्थिति र सेवाले विशेष महत्त्व राख्छ। दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याउनुपर्ने अवस्थामा यस अस्पतालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

नवनिर्मित भवनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले राजधानी भित्रिने र बाहिरिने मुख्य राजमार्गमा अवस्थित यस अस्पताल स्थानीय नागरिकका साथै सवारी दुर्घटनामा घाइते हुनेहरूको उपचारका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले सुविधासम्पन्न भवन निर्माण भएसँगै अस्पतालको सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

मुख्यमन्त्री थापा मगरले आफू यसअघि स्वास्थ्यमन्त्री हुँदा पनि अस्पतालका लागि बजेट विनियोजन गरिएको र अहिले पनि बजेटको व्यवस्था गरिएको बताउनुभयो। धेरै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भए पनि तिनको सञ्चालन स्थानीय तहले मात्रै गर्न कठिन हुने उहाँको भनाइ थियो।

“सबै स्थानीय तहको आम्दानीको स्रोत एउटै हुँदैन। अस्पताल सञ्चालन गर्न सक्दैनन्,” उहाँले भन्नुभयो, “अस्पताल सञ्चालनका लागि बागमती प्रदेश सरकारले आवश्यक प्रविधि र जनशक्ति उपलब्ध गराउनेछ।”

मुख्यमन्त्री थापा मगरले इच्छाकामना अस्पतालका लागि प्रदेश सरकारले दसैँलगत्तै विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामना आधारभूत अस्पतालले यसअघि दारेचोक स्वास्थ्यचौकीबाट सेवा सञ्चालन गर्दा कठिनाइ र अप्ठ्याराहरू भोग्नुपरेको उल्लेख गर्दै अहिले सुविधासम्पन्न भवनबाट सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँले अस्पतालका लागि आवश्यक थप उपकरण उपलब्ध गराइदिन मुख्यमन्त्री थापा मगरलाई आग्रह गर्नुभयो।

अध्यक्ष गुरुङले गाउँपालिकाले विपन्न तथा सुत्केरी महिलालाई निःशुल्क उपचार र आकस्मिक दुर्घटनाका घाइतेलाई एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। अस्पतालले गोरखा र धादिङका छिमेकी पालिकाका नागरिकका साथै काठमाडौँ, पोखरा र चितवन यात्रा गर्ने यात्रु तथा दुर्घटनामा घाइते भएकाहरूलाई समेत सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो।

गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले मुख्य राजमार्गमा अवस्थित यस अस्पतालले स्थानीय नागरिकमा मात्र सीमित नभई राजमार्गमा यात्रा गर्ने सबै नागरिकलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्न गण्डकी गाउँपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले पनि अस्पतालले स्थानीय नागरिकका साथै गोरखा र धादिङका छिमेकी पालिकाका नागरिकलाई समेत सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्य राजमार्गमा हुने दुर्घटनाका घाइतेको जीवनरक्षाका लागि अस्पताल महत्त्वपूर्ण भएकाले सबै तहका सरकारले आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँले जोड दिनुभयो।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, निवर्तमान गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले मन्तव्य राख्नुभएको थियो।

वक्ताहरूले इच्छाकामना आधारभूत अस्पतालको सेवा विस्तारका लागि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए। चितवनको इच्छाकामनासहित धादिङको बेनीघाट रोराङ, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकाका नागरिकका साथै काठमाडौँ, पोखरा र चितवन यात्रा गर्ने यात्रु तथा दुर्घटनाका घाइतेहरूको जीवनरक्षामा यस अस्पतालको महत्त्वपूर्ण भूमिका रहेको उनीहरूको भनाइ थियो।

गाउँपालिकाका अनुसार हालै निर्माण सम्पन्न भएको अस्पताल भवन १४ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरूले औँल्याएका थिए। पृथ्वी राजमार्गसँगै जोडिएको अस्पतालमा राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट