काठमाडाैँ : क्यानडाकी कवि, निबन्धकार तथा अनुवादक एनी कार्सनलाई सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएकाे छ।कविता, आख्यान,शैक्षिक लेखन लगायतका सीमालाई तोड्दै साहित्यमा नयाँ शैली र प्रयोग भित्र्याएकी ७६ वर्षीया कार्सनलाई स्विडिस एकेडेमीले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेको हो।
नोबेल पुरस्कार छनोट समितिले प्राचीन साहित्यिक परम्परासँग सिर्जनात्मक संवाद गर्दै समकालीन साहित्यका लागि नयाँ स्वरूप निर्माण गरेको भन्दै कार्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ।
पुरस्कारको खबरपछि सार्वजनिक प्रसारक आरयूभीसँग कुरा गर्दै उनले आफूलाई सम्मानित गर्ने निर्णय अप्रत्याशित लागेको बताइन्।
साहित्यतर्फको नोबेल पुरस्कार लेखकको समग्र साहित्यिक योगदानका आधारमा प्रदान गरिन्छ। यस वर्षको पुरस्कारसँगै कार्सनले एक करोड २० लाख स्विडिस क्रोनर अर्थात् करिब १२ लाख अमेरिकी डलर प्राप्त गर्नेछिन्।
स्विडिस एकेडेमीकी स्थायी सचिव इन्ग्रिड कार्लबर्गले सार्वजनिक घोषणा हुनुभन्दा केही समयअघि फोन गरेर कार्सनलाई पुरस्कारको खबर सुनाएकी थिइन्।
‘उनी आश्चर्यचकित थिइन्, तर निकै खुसी पनि। उनको आवाजबाटै त्यो महसुस गर्न सकिन्थ्यो,’ कार्लबर्गले भनिन्।
सन् १९५० मा क्यानडाको टोरन्टोमा जन्मिएकी कार्सन हाल अमेरिकाको मिसिगनमा बस्छिन्। उनले सन् २०२२ देखि आइसल्यान्डको नागरिकता पनि लिएकी छन्।
नोबेल पुरस्कार समितिका अध्यक्ष एन्डर्स ओल्सनले कार्सनले कवितामा व्यक्तिको आत्मकथात्मक शैली र परम्परागत कथनमा सीमित रहने प्रवृत्तिबाट बाहिर निस्केर समकालीन साहित्यका नयाँ स्वरूपलाई प्रेरित गरेको बताए।
उनका अनुसार कार्सनका रचनामा प्राचीन र आधुनिक कविता मात्र होइन, साहित्यका विभिन्न विधा तथा कलाका स्वरूपबीच पनि सिर्जनात्मक सम्बन्ध देखिन्छ। उनका कृतिमा हास्य, व्यङ्ग्य र प्रयोगशीलता पाइन्छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले कार्सनको उपलब्धिलाई असाधारण भन्दै यसलाई क्यानडाका लागि गौरवको क्षण बताएका छन्।
उनका अनुसार कार्सनका लेखनमा मौलिक शैली, कल्पनाशीलता र बौद्धिक चातुर्यको विशिष्ट संयोजन पाइन्छ। उनले प्राचीन कथाहरूलाई नयाँ पुस्ताका पाठकसम्म पुर्याउनुका साथै साहित्यलाई बुझ्ने दृष्टिकोणमै परिवर्तन ल्याएकी छन्।
कार्सनका चर्चित कृतिमा द ग्लास एसे, अटोबायोग्राफी अफ रेड : अ नोभेल इन भर्स, नक्स, फ्लोट र द ब्युटी अफ द हजब्यान्ड : अ फिक्सनल एसे इन २९ ट्याङ्गोज पर्छन्।
उनका रचनाले कविता, आख्यान, निबन्ध र शास्त्रीय अध्ययनलाई एकअर्कासँग जोड्छन्। विशेषगरी प्राचीन ग्रिक साहित्यबाट प्रेरणा लिएका उनका लेखनले पुराना कथालाई समकालीन समाज र पाठकसँग जोड्ने काम गरेका छन्।
सन् २०१९ मा प्रस्तुत उनको नाट्यकृति नर्मा जिन बेकर अफ ट्रोय ले प्राचीन ग्रिक मिथककी सुन्दरी हेलेन अफ ट्रोय र हलिउड अभिनेत्री मर्लिन मुनरोबीच समानान्तर सम्बन्ध प्रस्तुत गरेको थियो।
सन् २०२१ मा उनले युरिपिडिजको प्राचीन ग्रिक नाटक द ट्रोजन विमेन लाई चित्रकथाको स्वरूपमा पुनर्लेखन गरेकी थिइन्।
सोफोक्लिजको नाटक इलेक्ट्रा को उनको अनुवादमा आधारित नाटक गत वर्ष लन्डनमा अभिनेत्री ब्री लार्सनको अभिनयमा मञ्चन गरिएको थियो।
कार्सनले तीन दशकभन्दा बढी समयदेखि शास्त्रीय साहित्यको प्राध्यापकका रूपमा काम गरेकी छन्। प्राचीन ग्रिक साहित्यको गहिरो अध्ययन उनको सिर्जनाको प्रमुख आधार रहँदै आएको छ।
उनले दृश्य कलाकार, नृत्य निर्देशक, ओपेरा तथा रङ्गमञ्चका निर्देशकसँग पनि सहकार्य गरेकी छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij