Logo

Oct 05 2026 | २०८३, आश्विन १९गते

रुसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढाउने जेलेन्स्कीको चेतावनी

रुसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढाउने जेलेन्स्कीको चेतावनी

काठमाडौंः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनी शहर तथा नागरिक पूर्वाधारमाथि हवाई आक्रमणको नयाँ नीति अपनाएको भन्दै त्यसको जवाफमा रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण तीव्र बनाउने चेतावनी दिएका छन्।

रोयटर्ससँगको अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनी गुप्तचर निकायले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडोअघि नागरिक पूर्वाधारलाई व्यापक रूपमा लक्षित गर्ने नयाँ सैन्य नीति जारी गरेको देखाउने दस्तावेज प्राप्त गरेको दाबी गरे। उनका अनुसार उक्त नीतिअन्तर्गत पूर्वाधार, ढुवानी तथा रसद प्रणाली, सडक, विद्यालय र अस्पतालसहित शहर तथा गाउँका विभिन्न क्षेत्रलाई लक्षित गर्ने योजना छ।

युक्रेनबाट मानिसलाई राजधानी किभ तथा अन्य शहर छाड्न बाध्य पार्नु रुसको उद्देश्य रहेको जेलेन्स्कीको दाबी छ। रुसले भने युक्रेनमाथि आफ्ना आक्रमणका लागि जवाफी कारबाहीस्वरूप लक्ष्यहरूमा व्यवस्थित आक्रमण जारी राख्ने बताउँदै आएको छ। दुवै पक्षले जानाजान नागरिकलाई लक्षित गरेको आरोप अस्वीकार गर्दै आएका छन्।


जेलेन्स्कीले युक्रेनले रुसको नयाँ रणनीतिको जवाफ दिने तर नागरिक पूर्वाधारलाई अन्धाधुन्ध निशाना नबनाउने स्पष्ट पारे। युक्रेनको ऊर्जा संरचनामाथि आक्रमण भए त्यसको जवाफ रुसको ऊर्जा क्षेत्रमा दिइने भन्दै उनले विशेषगरी युद्धका लागि रुसलाई आम्दानी उपलब्ध गराउने तेल प्रशोधन केन्द्रलगायत संरचनालाई लक्षित गर्ने बताए।

पछिल्लो एक सातामा किभमा रुसी ड्रोन तथा क्षेप्यास्त्रबाट ऊर्जा र दूरसञ्चार संरचना, सडक तथा रेल पूर्वाधारलाई लक्षित गर्दै निरन्तर आक्रमण भएको जेलेन्स्कीले बताए। पहिलोपटक डिनिप्रो नदीमाथिका किभका पूर्व–पश्चिम जोड्ने पुलहरूलाई समेत रुसले निशाना बनाएको उनको भनाइ छ। जेलेन्स्कीले पूर्वी डोनबास क्षेत्रमा युक्रेनले सञ्चालन गरेको ‘भिभाल्दी’ नामक प्रत्याक्रमणबाट करिब १४० वर्ग किलोमिटर क्षेत्र पुनः नियन्त्रणमा लिएको र अभियान जारी रहेको दाबी गरे। रुसले भने शान्ति सम्झौताका लागि डोनबास क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा लिनुपर्ने अडान राख्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न वार्ता अघि बढाउने प्रयास गरिरहेका बेला जेलेन्स्कीले रुसले शान्ति वार्तामा रुचि देखाएको कुनै संकेत आफूले नपाएको बताए। उनले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा समेत रुसबाट युद्धविरामको प्रस्ताव नआएको बताए।

यसैबीच, युक्रेनी अधिकारीहरूले आगामी जाडोमा विद्युत् तथा खानेपानी संरचनामाथि आक्रमण गर्न रुसले सयौं ब्यालेस्टिक क्षेप्यास्त्र भण्डारण गरेको चेतावनी दिएका छन्। गत जाडोमा रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् तथा ताप आपूर्ति लामो समय अवरुद्ध भएको थियो। रुसले पछिल्लो समय युक्रेनमाथि जेट इन्जिनयुक्त शाहेद ड्रोनको प्रयोगसमेत बढाएको जेलेन्स्कीले बताए। उनका अनुसार यस्ता ड्रोन खसाल्न युक्रेनले एफ–१६ र मिग लडाकु विमानमा निर्भर हुनुपरेको छ। ती विमानका लागि आवश्यक २० मिलिमिटर गोलाबारुदको आपूर्ति घट्दै गएको उनले बताए।

युक्रेनले जेट शाहेद ड्रोनलाई रोक्न विद्युतीय जामिङ क्षमता बढाउने तथा सस्तो हवाई प्रतिरक्षा क्षेप्यास्त्र र नयाँ इन्टरसेप्टर ड्रोन विकास गर्ने काम अघि बढाएको जेलेन्स्कीले बताए। यसै साता युक्रेनले आफ्नै उत्पादनको एफपी–७ ब्यालेस्टिक क्षेप्यास्त्र पहिलोपटक युद्धमा प्रयोग गरेको घोषणा गरेको थियो। त्यसको करिब २५० किलोमिटर मारक क्षमता रहेको बताइएको छ।

जेलेन्स्कीले लामो दूरीको एफपी–९ क्षेप्यास्त्र विकासलाई तीव्रता दिन उत्पादक कम्पनीलाई दबाब दिएको र उक्त क्षेप्यास्त्र शरद ऋतुसम्म तयार हुने विश्वास व्यक्त गरे। युरोपमा रुसी ड्रोन प्रवेश तथा हाइब्रिड आक्रमणका पछिल्ला घटनाले युरोपेली जनतालाई त्रसित पार्ने र युक्रेनप्रतिको समर्थन कमजोर बनाउने उद्देश्य राखेको जेलेन्स्कीको आरोप छ। युरोपेली साझेदारसँगको छलफलपछि सन् २०२७ को शुरूआतसम्म युक्रेनलाई आवश्यक ड्रोन खरिद गर्न वित्तीय स्रोत सुनिश्चित भएको उनले बताए।

युक्रेनले यस वर्ष सामना गरिरहेको करिब २७ अर्ब डलरको रक्षा बजेट अभाव पूर्ति गर्न आफ्नै बजेट स्रोतको पुनःविनियोजन, द्विपक्षीय सहयोग तथा युरोपेली संघको ९० अर्ब युरो ऋणबाट आगामी वर्षका लागि छुट्याइएको रकम प्रयोग गर्ने योजना रहेको जेलेन्स्कीले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट